छैटौं भोजपुर ट्रेल रेस चैत १८ मा

झापा एक्सप्रेस , १२३७०  पटक हेरिएको

भोजपुर । मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटौं भोजपुर ट्रेल रेसको आयोजना गर्ने भएको छ ।

विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा ‘भोजपुर ट्रेल रेस’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष खेमराज राईले जानकारी दिएका छन् । फाउण्डेशनका अध्यक्ष राईका अनुसार चैत्र १८ गते आयोजना हुने उक्त रेसमा २ वटा इभेन्ट हुने छ । यसको लागी मुख्य प्रतिस्पर्धा ५० किलोमिटर दुरीको ट्रेल रेस हुनेछ । यस प्रतिस्पर्धामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।

उक्त रेसमा दुवै समुहतर्फका प्रथम, दोश्रो, तेश्रो, चौथो हुँदै सातौं सम्मका बिजेता धावक धाविकालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार ,१० हजार, ८ हजार र ६ हजार रुपैंया पुरस्कार दिइनेछ । सोही प्रतियोगितामा सहभागी हुने पहिलो दोस्रो र तेस्रो हुने भोजपुर जिल्लाका धावक, धाविकाहरु लाई छुट्टै पुरस्कार दिईनेछ । पहिलोलाई नगद ५ हजार,दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार प्रदान गरिनेछ । भोजपुरका खेलाडीहरुको प्रोत्साहन र हौषलाका लागि हामीले छुट्टै पुरस्कार दिन लागेका हौ, उक्त पुरस्कारका लागि भोजपुरकै हुनपर्नेछ, फाउण्डेसनका कोषाध्यक्ष नुतन राईले भने ।

यस संस्करणमा १० किलोमिटर रेसको पनि आयोजना हुने आयोजकले जनाएको छ।
१० किमि रेसमा सहभागी भई प्रथम, दोश्रो र तेश्रो हुने धावक धाविकालाई जनही क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

यस प्रतियोगितामा पनि पौवादुम्मा गाउँपालिकाका स्थानीय प्रथम,दोस्रो र तेस्रो हुनेलाई धावक धाविकालाई पनि हौषला स्वरुप क्रमशः नगद ३ हजार,२ र नगद १ हजार प्रदान गरिनेछ।

सोहि ट्रेल रेसमा भेट्रान धावकहरुको पनि प्रतिस्पर्धा रहने छ । भेट्रान धावकको प्रोत्साहन स्वरुप पहिलो हुनेलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

भोजपुरको पौवादुम्मा गाउँपालिकाको सानोदुम्माबाट रेसको सुरुवात भएर बास्तिम, अखुवाखोला ,पारपानी भोजपुर बजार,तिवारी भञ्ज्याङ हुँदै सानोदुम्मा मै समापन हुने फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए । यो रेसमा सहभागीताको लागी फाउण्डेशनको आधिकारीक वेबसाइटबाट अनलाईन मार्फत पनि फारम भर्न सकिने आयोजकले बताएको छ । भोजपुर ट्रेल रेसको समापन कार्यक्रममा चर्चित हाँस्यकलाकार उमेश राई‘फलन्देको आमा’को बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। भोजपुर ट्रेल रेसलाई निरन्तरता दिदैं पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय कलाकारहरुलाई पनि समावेश गरिएको फाउण्डेसनका सह—सचिव बिजेन्द्र हाङबाङ राईले जानकारी दिए।

प्रकाशित मिति: २०२३-०३-१४ , समय : १८:४५:३६ , २ वर्ष अगाडि

error: Content is protected !!