चन्द्र बस्नेत , १४४२७ पटक हेरिएको
झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ ।
महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेटभन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । आज एक कार्यक्रमका बीच कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले महिला मार्गको उद्घाटन गर्नुभयो ।
सडक उद्घाटन गर्दै कनकाई नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा धेरै बाटो बने पनि महिलाको नेतृत्वमा बनेको यो पहिलो बाटो रहेको बताउनुभयो । “महिला दिदीबहिनीहरुले धेरै राम्रो काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।”
लागत सहभागितामा धेरै कम योजना आउने गरेको र स्थानीयको विकास निर्माणमा उपभोक्ताको सहभागिता जरुरी रहेको उहाँको भनाइ छ । हरेक नगरबासीले नगरको विकासमा हातमा हात दिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । धेरै अनुदान र बजेट कटौति हुँदा कतिपय निर्धारित योजनाहरु रोक्नुपर्ने अवस्था रहेको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० को योजना अन्तरगत कनकाई–३ रिङरोड उत्तरतर्फ गाई फारम जाने सडक कालोपत्रे गरिएको हो । उक्त सडक निर्माणका लागि रू ८९ लाख ७८ हजार ४९७ लागत स्टिमेट तयार पारिए पनि महिला उपभोक्ता समितिले रू ७७ लाख ७७ हजार ९५ मा सडक निर्माण सम्पन्न गरिएको समितिकी सचिव कमला अधिकारीले जानकारी दिनुभयो ।
“बाटो बनाउने शुरुमा असहज भए पनि काम गर्दै जाँदा हुँदो रहेछ भन्ने भयो”, उहाँले भन्नुभयो, “काम सम्पन्न भएपछि सबैले राम्रो गर्नुभयो भन्ने प्रतिक्रिया दिइरहेका छन् ।”
नगरपालिकाको ७० प्रतिशत र स्थानीयबासीको ३० प्रतिशत लागत सहभागितामा २८ फिट चौडाइ रहेको सडकमा २४ फिट कालोपत्रे गरिएको छ भने दुवैतर्फ प्लम निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष रेवता चापागाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा उभोक्ता समितिले आय–व्यय समेत सार्वजनिक गरेको छ । महिला मार्गमा नगरपालिकाको ६० लाख ९१ हजार ४७३ र स्थानीयबासीको रू १६ लाख ४८ हजार लगानी रहेको छ । सडक निर्माण सम्पन्न गर्दा रू ३२ हजार ६६२ ऋण लागेको समितिले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-१८ , समय : २०:१५:५० , २ वर्ष अगाडि