झापा एक्सप्रेस , २५८८१ पटक हेरिएको
हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएका नव प्रवेशी १७ जना शिक्षक तथा शिक्षिकालाई स्वागत तथा पदस्थापना गरेको छ। पालिकामा बुधबार (आज) एक कार्यक्रम आयोजना गरेर गाउँपालिकाले प्राथमिक विद्यालय तृतीय श्रेणीका शिक्षकहरुलाई स्वागत गरेको हो ।
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरको प्राथमिक तहको रिक्त दरबन्दीमा खुल्ला प्रतियोगितात्मक परीक्षाको माध्यमद्वारा स्थायी नियुक्तिका लागि सिफारिस तथा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमि भक्तपुरको पत्रअनुसार साथै शिक्षा विकास तथा समन्वय इकाइ भद्रपुर झापाको पत्र र हल्दीबारी गाउँ शिक्षा समितिको निर्णय अनुसार पालिकामा स्वागत गरिएको हो ।
हल्दीबारी गाउँपालिका अन्तर्गत प्राथमिक तहमा रिक्त रहेका दरबन्दीमा पदस्थापनाका लागि पठाइएका १७ जना शिक्षक तथा शिक्षिकाहरूलाई पदस्थापना गरिएको हो। शिक्षक सेवा आयोग शिक्षक पदस्थापनका आधार तथा मार्ग दर्शन अनुरूप गाउँपालिकामा सिफारिस भएर आएका प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरूले प्राथमिकता क्रमका आधारमा विद्यालय छनौट गरी निवेदन पेश गरेको आधारमा पारित दरबन्दी रहेको ठाउँमा पदस्थापना गरिएको जनाइएको छ ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी देबी मैनाली, वडा नम्बर १ अध्यक्ष देबीबहादुर थापा, शिक्षा शाखा प्रमुख जनककुमारी राई लगायत जनप्रतिनिधिहरू कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै नव नियुक्त शिक्षकहरूले आ–आफ्नो बिद्यालयमा गएर हाजिरी समेत गरेको जनाएको छ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : २०:१८:५२ , २ वर्ष अगाडि