एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सन्थाल समुदायको आपत्ति

झापा एक्सप्रेस , २११९१  पटक हेरिएको

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति सन्थाल समुदायले आपत्ति जनाएका छन् । मंगलबार बिर्तामोडमा सन्थाल समुदायसम्बद्ध पाँच वटा संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनीहरुले चैत १९ र २० गते काठमाण्डौमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको दोस्रो महाधिवेशनमा मन्तव्यको क्रममा एमाले अध्यक्ष ओलीले सन्थाल महिलाहरुको भेषभुषाको बिषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । मन्तव्यको क्रममा ओलीले ‘हाम्रै गाउँको सतार महिलाहरु जुन पहिरन लगाउनु हुन्छ त्यो टीभीमा ल्याएर देखाउने हो भने वाह ! क्या बोल्ड सिन भनेर उधुमै मच्चिन्छ । एउटा गाम्छा यसो बेरेको हुन्छ । माथि एउटा हालेको हुन्छ, क्या बोल्ड सिन । एतै देखिएको छ, उतै देखिएको हुन्छ’ भन्दै गरेको भाषण विभिन्न सञ्चारमाध्यमबाट प्रशारण भएको थियो ।

सन्थाल समुदायले ओलीको यस्तो अभिव्यक्तिले आफ्नो सिंगो समुदायको मान हानी भएको ठहर भएको जनाएका छन् । ‘जंगली युगको प्रसंग ल्याएर एक्काइसौँ शताब्दीका संथालहरु अझै संवेदनशिल अंग देखिने पहिरन लगाउँछन् भन्ने हास्य कलाकारको रुपमा दिएको हास्यास्पद अभिव्यक्तिप्रति संथाल समुदाय घोर निन्दा गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।

सन्थाल समुदायका महिलाहरुले लगाउने पहिरनलाई लुङगी, पन्ची पालहाट, पेटीकोट, साडी चोलो आदि भएको उनीहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय सन्थाल परिषदका उपाध्यक्ष तथा संविधानसभा सदस्य मोहन टुडुले सन्थाल समुदायले आफ्नो हकहितका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा सहभागी हुँदै आएको जनाउँदै लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्रीसमेत भइसकेका एमाले अध्यक्ष ओलीले पहिरनको बिषयमा आफ्नो समुदायलाई होच्याउने गरि दिएको अभिव्यक्ति निन्दनीय भएको भन्दै तत्काल फिर्ता लिइ सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताए । ओलीको अभिव्यक्तिप्रति अन्तराष्ट्रिय सन्थाल समुदायको समेत ध्यानाकर्षण भएको भन्दै टुडुले बहुजाती, बहुभाषिक मुलुकमा उच्च ओहोदामा रहिसकेका व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु दुखद भएको बताए । ओलीले सन्थाल समुदायको भावनामा आँच आउने उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर सार्वजनिक रुपमा माफि नमागे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

टुडुले आफुहरु सतार नभएर सन्थाल भएको भन्दै नेपाली शब्दकोषमा सच्याउन माग गरे ।

आदिवासी जनजाति महासंघमा आवद्ध एक घटक सन्थाल समुदायप्रति एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघको ध्यानाकर्षण भएको महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले जानकारी दिए । ओलीको अभिव्यक्तिm निन्दनीय र बिष बमन गर्ने ढंगको भएको उनले बताए । सन्थाल समुदायको आफ्नै भेषभुषा, सामाजिक कानुन भएको भन्दै यस्ता अभिव्यक्तिले समाजमा गलत सन्देश जाने बताए । जे बोलेपनि हुन्छ भन्ने मनसायबाट आएको अभिव्यक्ति दुखद भन्दै ओलीले माफि माग्नु पर्ने चौधरीले माग गरे । ओलीको यस्तो गैर अभिव्यक्तिले लज्जित बनाएको बताउँदै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने अन्यथा आन्दोलनको बिषय बनाउने चौधरीले चेतावनीसमेत दिए ।

नेपाल सन्थाल विकास संघका अध्यक्ष वडाराम हेमरमले बिना अनुमति सन्थाल समुदायको बिषयमा बोल्ने अनुमति ओलीलाई कसले दियो? भन्दै प्रश्न गरे । आफुहरु पूर्वी नेपालको भूमिपुत्र भएको र यस क्षेत्रमा बस्ती बसाउन योग्य सन्थाल समुदायले बनाएको हेमरमले बताए । उनले ओलीको उक्त अभिव्यक्ति निन्दनीय र हेपाहा भएको भन्दै फिर्ता गर्नुपर्ने अन्यथा कानुनी उपचार खोजिने बताए ।

कार्यक्रममा नेपाल संथाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मु, रिलोमाला संथाली अख्डाका अध्यक्ष रिमिल श्यामसुन्दर बेस्रालगायतले आफ्ना धारणा राखेका थिए ।

हेर्नुहोस विज्ञप्ती

प्रकाशित मिति: २०२३-०४-१२ , समय : ०८:१८:३२ , २ वर्ष अगाडि

error: Content is protected !!