झापा एक्सप्रेस , २०२६८ पटक हेरिएको
बिर्तामोड । वस्तुको प्रत्यक्ष बिक्री गर्दै आएको ग्लोबल ओरियन्स नेपाल प्रालिले कम्पनीको तर्फबाट कुनै कमजोरी भए सुधार गर्ने प्रतिबद्धता जनाएको छ । बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर कम्पनीका अध्यक्ष वसन्त पण्डितले कम्पनीको तर्फबाट कुनै कमजोरी भए औँल्याईदिन आग्रह गर्दै यदि त्यस्तो पाइए सुधार गर्ने प्रतिबद्धता जनाएका हुन ।
केही दिनअघि केही सञ्चार माध्यममा कम्पनीका बिषयमा प्रकाशित समाचारले कम्पनीको ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी त्यस बिषयमा छानबिन गर्ने र गलत भएको पाइए कारवाही गर्ने जनाएको हो । सञ्चारमाध्यममा प्रकाशित समाचारले कम्पनीलाई सजग बनाएको भन्दै पण्डितले सञ्चार संस्थालाई धन्यवाद दिए ।
बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ बमोजिम ग्लोबल ओरियन्स कम्पनीले २०७७ असार २९ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजत प्राप्त गरि काम गरिरहेको पण्डितले जनाए । कम्पनीले कुनै पनि उपभोक्ता तथा वितरकलाई ठग्ने उद्धेश्य नभएको भन्दै यदि कसैलाई त्यस्तो महशुस भएको भए कम्पनीमा सम्पर्क गर्न आग्रह गरे ।
समाचारमा भनिएजस्तो यदि कुनै व्यक्ति अनाधिकृत व्यक्तिहरुले प्रलोभनमा पारेको भए कम्पनीमा जानकारी गराए त्यस्ता व्यक्तिलाई कारबाही गरिने पण्डितको भनाई छ । देशका ३० वटा बिक्री कक्षबाट हर्बल कस्मेटिक तथा खाद्यवस्तुको बिक्री हुने गरेको बताउँदै पण्डितले यदि कुनै ग्राहकलाई आफुले किनेको वस्तु मन नपरे खरिद गरेको ३० दिन भित्र फिर्ता गर्न सकिने जानकारी दिए । काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ बालाजुमा कम्पनीको प्रधान कार्यालय रहेको र अनलाईन बिलिङ प्रणाली मार्फत बिक्री भएको वस्तुको बिजक जारी गरिने उनले बताए । २४ किसिमका वस्तुबाट शुरु गरेको कम्पनीले हाल ५४ वटा वस्तु बिक्री गरिरहेको उनको भनाई छ । ऐन अनुसार कम्पनीले बिक्री गर्ने वस्तुमध्ये ५० प्रतिशत वस्तु नेपालकै उत्पादन रहेको पण्डितले बताए ।
बस्तुको प्रत्यक्ष बिक्री ऐनमा व्यवस्था भए वमोजिम ऐनको दफा १४ बमोजिम १८ बर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिकहरु बिक्री सम्झौता फर्म भरी वितरक बन्न सक्ने कम्पनीले जनाएको छ । वितरक बनिसकेपछि बिक्री अनुपातको आधारमा ऐनले नै व्यवस्था गरेको दफा १५ तथा नियमावलीको दफा १० तथा निर्देशिकाको दफा १० को उपदफा १ बमोजिम जतिसुकै तह भएपनि बिक्री मुल्यको अधिकतम ४२ प्रतिशत भन्दा बढी नहुने गरी कमिसन वा बोनस वा सेवा सुविधा वितरकहरुले प्राप्त गर्न सक्ने अध्यक्ष पण्डितले बताए ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १४:२४:१२ , २ वर्ष अगाडि