झापा एक्सप्रेस , २४००७ पटक हेरिएको
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । हल्दिबारी–५ स्थित धनुषा आधारभूत विद्यालय परिसरमा मंगलबार गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो । सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदाय र स्थानीय सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियो ।
सरोकारवालाहरूले खानेपानी, सडक, सडक बत्ती, सामुदायिक विद्यालय, भौतिक पूर्वाधार, कृषि जस्ता विषयमा सन्तोषजनक काम नभएको गुनासो गरेका थिए । हल्दिबारी–४ का रामबहादुर मोक्तानले धेरै प्रयास गर्दा पनि २०० मिटर खानेपानी पाइपलाइन विस्तार नगर्दा खानेपानी पिउनबाट वञ्चित भएको गुनासो पोखे । वडा–५ का बलराम गिरी, लालबहादुर मगर र कर्ण खपाङ्गीले पनि भनेजस्तो विकासका कामहरू हुन नसकेको गुनासो राखेका थिए ।
उठेका सुझाव तथा जिज्ञासालाई पालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, उपप्रमुख लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँइले सम्बोधन गरेका थिए । अध्यक्ष लिङ्देनले विकासका लागि सबैको सहयोग र सहकार्य जरुरी रहने बताए । उनले गाउँपालिकाको विकासमा स्थानीयवासीको जिम्मेवारी र भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । स्माइल नेपालले संयोजन गरेको कार्यक्रममा वडाअध्यक्ष लगायतले वडाबाट हुने गतिविधिका बारेमा प्रस्ट पारेका थिए ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : १२:०६:०३ , २ वर्ष अगाडि