बिर्तामोडमा भूमिहिन सुकुम्बासी समस्या, चुनौती र समाधान बिषयक अन्तरक्रिया

झापा एक्सप्रेस , १७५४०  पटक हेरिएको

बिर्तामोड । झापाको बिर्तामोडमा भूमिहिन सुकुम्बासी समस्या, चुनौती र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित नेकपा माओवादी केन्द्रको हलमा एक दिने अन्तरक्रिया सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रममा बिर्तामोड क्षेत्रभित्र रहेका सुकुम्बासीहरुले आ–आफ्ना समस्या राखेका थिए । सहभागिहरुले राष्ट्रिय भूमि आयोगका सदस्यहरुलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धि कार्य प्रगतिबारे जिज्ञासा राखेका थिए ।

रमेश मुर्मुले अन्य पालिकामा काम भइरहेको तर बिर्तामोडमा आयोगले काम गर्न र लगत उठाउन किन ढिला गरेको भनेर प्रश्न गरेका थिए । सुकुम्बासी धपाउने राज्यले सोहि ठाउँमा भूमाफियाले ठड्याएको महलमा राज्यले आँखा नलाउने भन्दै गुनासो गरे ।

मानबहादुर श्रेष्ठले सुकुम्बासीलाई नगरबासी बनाइदिन आयोगका सदस्यहरुलाई आग्रह गरे । पूर्व पश्चिम रेल मार्गले धेरै सुकुम्बासीको उठिबास लगाउन आँटेको भन्दै मानबहादुर राईले चिन्ता व्यक्त गरे । मुआब्जाका लागि आफुहरुसँग धनिपूर्जा नभएको भन्दै घरबास नै उठ्नु पर्ने अवस्था सिर्जना हुन लागेको गुनासो गरे ।

बिर्तामोड १० का मानबहादुर लिम्बूले कम्युनिष्टले सर्वहाराको पक्षमा काम गर्नु पर्ने बताउँदै बिर्तामोडका नगर प्रमुख र उपप्रमुख दुवै जना कम्युनिष्ट भएपनि सुकुम्बासीको समस्यामा चासो नदिएको गुनासो गरे । उनले कि कम्युनिष्टहरु दुई चार खालको हुन्छ? भन्दै प्रश्न गरे । सुकुम्बासीको बारेमा सोँच बिचार नगरी सामाजिक सञ्जालमा जथाभावी लेख्नेको हात काट्नेसमेत चेतावनी दिए ।

सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका विज्ञ सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको लिस्ट नै नपठाएको बताए । समस्या लिएर नगरपालिका जाने सुकुम्बासीलाई आयोगमा जानु भनेर पठाउने तर आयोगमा कुनै कागजात नै नपठाउने हुँदा कैयन मानिसले दुख पाइरहेको लामाले बताए । सुकुम्बासी समस्या समाधानमा बिर्तामोड नगर उदासिन देखिएको उनको भनाई थियो । साविकमा वन जनिएको भएपनि एक पटकलाई जो बसेको छ उसलाई धनिपूर्जा दिनु भन्ने नियमावलीमा लेखिएको भएपनि कर्मचारीहरुले आनाकानी गर्ने गरेको गुनासो गरे । स्थानीय पालिकाले निस्सा नबाँडीकन अन्य प्रक्रिया नै शुरु नहुने उनले जानकारी दिए । कार्यक्रममा उपस्थित अधिकांशले बिर्तामोडमा निस्सा नपाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मशिला चापागाईँले सुकुम्बासी, दलित, जनजाति लगायतको समस्यामा लागिरहने पार्टी नै माओवादी केन्द्र भएको बताइन् । सुकुम्बासीको समस्या जटिल भएको बताउँदै चापागाईँले आफु २०४८ सालदेखि समस्या समाधानमा लागि रहेको बताइन् । वर्ने, काँकरभिट्टा लगायतका स्थानमा भएका आन्दोलनमा आफू प्रत्यक्ष सहभागि भएको उनले बताइन् ।

पार्टीको बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य तारा सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा सहइञ्चार्ज ज्योतिसिं दर्लामी, प्रदेश सदस्य अरुण श्रेष्ठ, जिल्ला संयोजक राजु आचार्य (अग्नी)लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । नगर सचिव गणेश कालिकोटेले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष कमल कडरियाले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२३-०५-२० , समय : १९:५७:३२ , २ वर्ष अगाडि

error: Content is protected !!