झापा गाउँपालिका स्तरीय राष्ट्रियपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

झापा एक्सप्रेस , २२४९७  पटक हेरिएको

शरणामती-झापा गाउँपालिका-६ को शरणामतीमा चौथो झापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबार देखि सुरु भएको छ।

जनता माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा झापा गाउँपालिकाका १४ वटा  विद्यालयका टीम सहभागी छन्।

प्रतियोगिताको पहिलो दिन भलिवल,कबड्डी लगायतका प्रतियोगिता भएको छ।आउँदो १२ गते सम्म चल्ने प्रतियोगितामा कबड्डी,भलिवल साथै एथलेटिक्स अन्तर्गत सय मिटरको महिला पुरुष दौड, दुई सय मिटरको महिला पुरुष दौड, चार सय मिटरको महिला पुरुष दौड, ८ सय मिटरको महिला पुरुष दौड, १५ सय मिटरको महिला पुरुष दौड, ३ हजार मिटरको महिला पुरुष दौड हुने खेल उपसमिति संयोजक सूर्यकान्त राउतले जानकारी दिए।यस्तै, महिला र पुरुषको रिले दौडका साथै महिला र पुरुषको सटपुट, ज्याबिलङ थ्रो, लङजम्प, त्रिफलजम्प र हाइजम्प प्रतियोगिता हुने उनले बताए।

प्रतियोगिताको उद्घाटन गर्दै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले खेलकुद क्षेत्रको विकास राष्ट्रको पहिचान हुनाले खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए।यस्तै झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गरेको बताइन।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला प्रतियोगितामा समावेश हुने शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालले बताए।

रोहित पोद्दारले संचालन गरेको उद्घाटन कार्यक्रममा शाखा प्रमुख ढकालले स्वागत मन्तव्य राखेका थिए।त्यस्तै उद्घाटन कार्यक्रममा वडा-६ का वडाध्यक्ष हरीबहादुर बानीयाँ,टिका प्रसाद कट्टेल,जगन्नाथ राजबंसी ,हिम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २०२२-०३-२३ , समय : १८:२४:४७ , ३ वर्ष अगाडि