भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेटको आकार साढे ५ करोडले घट्यो

झापा एक्सप्रेस , १८११९  पटक हेरिएको

झापा । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट बहुमतले पारित गरेको छ ।

नगरपालिकामा शनिवार बसेको नगर सभाको १२ औं अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट बहुमतले पारित गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० मा ९१ करोड ३४ लाख २३ हजार अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्ष २०८०/०८१ मा ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट नगरपालिकाका उपप्रमुख राधा कार्कीले नगर सभामा सार्वजनिक गरेकी हुन् ।

चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि ५ करोड ६७ लाख २० हजार रुपैयाँले नगरको बजेट घटेको हो । नगरको आगामी आर्थिक वर्षको बजेट अनुसार आर्थिक विकास कार्यक्रमतर्फ ४ करोड ८० लाख, सामाजिक विकास कार्यक्रमतर्फ ३६ करोड २५ हजार, वातावरण तथा विपत् व्यवस्थापन कार्यक्रमतर्फ ५८ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १५ करोड ८० लाख र पूर्वाधार विकास कार्यक्रमतर्फ २८ करोड ४८ लाख ७८ हजार रुपैयाँ गरी ८५ करोड ६७ लाख ३ हजार अनुमानित बजेट रहेको उपप्रमुख कार्कीले बताइन् ।

उल्लेखित अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट १२ करोड ४४ लाख १० हजार, प्रदेशबाट ८२ लाख, स्थानीयबाट २ करोड ८० लाख ७९ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानबाट १८ करोड ५८ लाख ११ हजार, समपूरक अनुदानबाट १ करोड ७९ लाख ७८ हजार, सशर्त अनुदानबाट ३१ करोड ७२ लाख २५ हजार, विशेष अनुदानबाट २ करोड र नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने १० करोड बराबरको योजना तथा कार्यक्रमहरू सञ्चालन हुने उनले बताइन् ।

त्यस्तै नगर प्रमुख गणेश पोखरेलले नगरको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सीमित स्रोत साधनका बीच नगरवासीको प्राथमिकतामा आधारित नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख पोखरेलले बताए । सामाजिक विकास क्षेत्रमध्ये शिक्षा र स्वास्थ्य तथा पूर्वाधार क्षेत्रबाहेक कृषि र पशु सेवा क्षेत्रलाई समेत प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उनको भनाई छ । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : २०:३८:५७ , २ वर्ष अगाडि

error: Content is protected !!