झापा गाउँपालिकाको कार्हवाहक अध्यक्षमा अञ्जुदेवि थपलिया

लिलाराज झापाली , ८६०५४  पटक हेरिएको

झापा-झापा गाउँपालिकाको कार्हवाहक अध्यक्षमा उपाध्यक्ष अञ्जुदेवि थपलिया हुनुभएको छ ।

प्रचलित कानुन अनुसार गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बनमा परेसँगै कार्हवाहक अध्यक्षमा उपाध्यक्ष अञ्जुदेवि थपलिया हुनुभएको हो ।

झापा गाउँपालिकाका वडासदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास, सव इन्जिनियर विज्ञान चम्लागाई लगायत निलम्बनमा पर्नुभएको छ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध काठमाडौँ विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले बुधवार उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

झापा गाउँपालिकास्थित लक्ष्मी मार्ग सडकखण्डअन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर बाटो बनाउनको लागि गाउँपालिका र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको तर उक्त रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । अख्तियारले अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सब इन्जिनियर विज्ञान चम्लागाईले गाउँपालिकाबाट आर्थिक २०७४– ०७५ मा विनियोजित रकमबाट वडा नम्बर ३, ६ र ७ स्थित “लक्ष्मी मार्ग बाटो उच्चस्तरीय ग्राभेल योजना कार्यमा फिल्डमा अनुगमन र निरीक्षण गरी सोको वास्तविक परिमाण प्रमाणित गरी नापी किताब तयार गरी भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा सो नगरी साइटमा नगरे– नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी २२ लाख ९ हजार ८२३ रुपैयाँ ४० पैसा बढी भुक्तानी दिएको देखिन आएको अख्तियारको ठहर छ । प्रमुख प्रशासकीय दंगाल, इन्जिनियर दास र सब इन्जिनियर चम्लागाईलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा २२ लाख ९ हजार ८२३ रुपैयाँ ४० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग दावी गरिएको छ ।

त्यस्तै लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुब्बा (राई) भन्ने शन्तमाया सुब्बा लिम्बूले पालिकासँग भएको सम्झौता बमोजिमको सर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने कामहरू नगरी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

साथै, झापा गाउँपालिकाका ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बानिया, वडा ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभएको छ ।

उक्त भ्रष्टाचार मुद्धामा मुछिनुभएका तत्कालिन ७ नम्बर वार्डका वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, ६ का वडाध्यक्ष हरिबहादुर बानिया र ३ का वडाअध्यक्ष मोतीलाल गणेश भने हाल पदमा रहनुभएको छैन । उपाध्यक्ष कुन्तिदेवि बुडाथोकी समेत पदमा रहनुभएको छैन । तत्कालिन बाटो निर्माण समितिका सचिव फणिन्द्र खरेल हाल झापा गाउँपालिका ६ का वडासदस्य रहनुभएको छ । अख्तियारले दायर गरेको मुद्धाको टुगो नलागेसम्म पालिका अध्यक्ष जयनारायण शाह, कर्मचारी र वडासदस्य खरेल हाल निलम्बनमा परेका हुन । सार्वजनिक पद धारण गरेको व्याक्तिमाथि भ्रष्टाचारको मुद्धा दायर हुने वितिक्कै उनको उक्त पद स्वत निलम्बनमा पर्ने कानुनी प्रावधान भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार रहेको छ । अदालतमा चल्ने मुद्धाको सफाई पाउन्जेलसम्मलागि हाल निलम्बन हुने र पछि अदालतबाट मुद्धाको अन्तिम किनारा लागिसकेपछि भने कानुन अनुसार पद वहाली हुने वा अन्य सजाय हुने कानुनअनुसार हुने छ ।

प्रकाशित मिति: २०२३-०७-१२ , समय : २०:४७:४४ , २ वर्ष अगाडि

error: Content is protected !!