झापा एक्सप्रेस , ३०१७७ पटक हेरिएको
काठमाडौं : झापा इनर्जी लिमिटेडले सर्वसाधारणकालागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो ।
आज शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।
झापा इनर्जी लिमिटेडले जनसहभागिता समेतका आधारमा १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन परियोजनाको काम धमाधम गरिरहेको छ ।
शिवसताक्षी नगरपालिका–४ मा १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन परियोजनाकालागि अहिले निमार्ण कार्य अन्तिम चरणमा पुगेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । २१ विगहा क्षेत्रफलमा फैलिएको परियोजना अबको केहि महिना भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।
करिव ८० करोड रुपैयाँको लागतमा सौर्य उत्पादन परियोजनालागि वित्तिय संस्थाले ७५ प्रतिशत लागत व्यहोर्ने र बाँकी २५ प्रतिशत जनसहभागिता समेतका आधारमा जुटाइने बताइएको छ ।
विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेकाले उत्पादित विद्युत् उपयोगिताका दृष्टिले कुनै समस्या नरहेको कम्पनीका अध्यक्ष एलपी सांवा लिम्बुले बताए ।
परियोजनाबाट उत्पादित बिजुली स्थानीय बुलुचोक सवस्टेसनमा जोडिने छ । प्राधिकरणले २५ वर्षसम्म आयोजनाबाट उत्पादित बिजुली सात रुपैयाँ ३० पैसा प्रति युनिटका दरमा किन्नेछ । वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गरेर आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने लक्ष्य राखेको प्रबन्धक भट्टराईको भनाई छ ।
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १९:४२:२२ , २ वर्ष अगाडि