झापा एक्सप्रेस , २७९१४ पटक हेरिएको

कनकाई । पूर्व-पश्चिम महेन्द्र राजमार्गस्थित कनकाई नगरपालिका- ७ दुर्गापुर क्षेत्रमा आज बिहीबार भएको सवारी दुर्घटनामा परि एक युवा कुमार दर्जीको मृत्यु भएपछि भएको तनावग्रस्त स्थितिको भिडियो खिचिरहेको पत्रकार सिएम शर्मामाथि दुर्व्यवहार भएको छ ।
बिर्तामोडका एक युवा पदम श्रेष्ठले दुर्घटनापछिको दुर्गापुर सडक क्षेत्रको रिर्पोटिङको क्रममा भिडियो बनाइरहेका ठोस खबर डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य समेत रहेका पत्रकार शर्माको मोबाइल जबरजस्ती खोसेका थिए ।
पत्रकार शर्माको मोबाइल खोसेपछि स्थानीयको दबाबपछि केहीबेरमा श्रेष्ठले मोबाइल फिर्ता दिए । सुरुमा श्रेष्ठले सादा पोसाकको प्रहरी भनेर परिचय दिन खोजेका थिए । घटनापछि प्रहरी नभएको खुलेको हो । यसैबिच पत्रकार शर्माको मोबाइल खोस्ने श्रेष्ठलाई कडाभन्दा कडा कारबाही गर्नका लागि पत्रकारजन्य सङ्घसंस्थाले जोडदार माग गरेका छन ।
पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको चरम दुर्व्यवहारको जति नै शब्दमा निन्दा गर्दा पनि कम हुने भन्दै यस्ता खाले गलत हर्कतका विरुद्धमा पत्रकार महासंघ सदैव लागि पर्ने बताएका छन् ।
दोषीउपर उचित कारबाहीको प्रक्रिया अगाडि नबढाएमा सशक्त आन्दोलन गरिने समेत झापालीले बताए । यसै गरी प्रेस सेन्टर झापा, कनकाई सुरुङ्गा प्रेस क्लब लगायतका सङ्घ संस्थाले समेत दोषी उपर कारबाहीको माग गरेका छन । यता कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाले प्रहरीकै अगाडि पत्रकारको मोबाइल खोसिनु र उनलाई प्रहरीले संरक्षण लिएर जानुले आशङ्का उत्पन्न गराएको बताउँदै जोकोही पनि घटनामा सामेल व्यक्तिलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । पत्रकार शर्मा कनकाई सुरुङ्गा प्रेस क्लबका कोषाध्यक्ष समेत हुन् ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : १७:४९:२२ , २ वर्ष अगाडि