भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिदैन-मन्त्री किराँती

झापा एक्सप्रेस , १८१०५  पटक हेरिएको

कनकाई-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताउनुभएको छ । उहाँले सरकारले अहिले चलाएको भ्रष्टाचार विरुद्धको कदम नरोकिने बताउनुभएको हो ।

बुधबार २९ औ विश्व आदिबासी दिवसको कार्यक्रममा सहभागि हुन कमल गाँउपालिका झापा आउनुभएका मन्त्री किरातीले स्थानीय नेता कार्यकर्ताहरुसँग संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी र अहिलेको सरकारले जनभावाना अनुसारको काम गरिरहेको दाबी गर्नुभयो ।

“हिजो हामीले परिवर्तनका लागि लड्यौ अब भ्रष्टाचार विरुद्ध लड्छौँ,” उहाँले भन्नुभयो । यो लडाइमा अवरोध गर्ने तत्वहरु सक्रिय भएपनि डगनमगाइ अघि बढ्ने उहाँको भनाइ छ। “हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको युद्धमा होमिसकेका छौं”, मन्त्री किरातीले भन्नुभयो ।

यसैबीच आदिबासी दिवसको अवसरमा कमल गाँउपालिकाकै आदिबासी रंगशालामा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले हरेक अग्रगामी आन्दोलनमा आदिबासी जनजातीहरु अग्रणी भूमिकामा रहेको बताउनुभयो । वि.स २००७ सालको आन्दोलनमा ब्रिटिस आर्मीबाट अवकाश पाएका आदिबासीहरु सहभागि भएको स्मरण गर्दै उहाँले हरेक आन्दोलनहरुमा उच्च योगदान रहेको उल्लेख गर्नुभयो ।

पुर्खाले छाडेको ७ वटा मानव निर्मित सम्पदा बाहेक नेपालमा अन्य सम्पदाहरु अहिलेसम्म बन्न नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बेला आएको उहाँले जनाउनुभयो । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उहाँको भनाइ छ । “हामीले पूर्वको पहाडदेखि पश्चिमका पहाडहरुसम्म पहिचानमा आधारित सम्पदा निर्माण गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : १७:३६:२३ , १ वर्ष अगाडि

error: Content is protected !!