झापा एक्सप्रेस , २१०४९ पटक हेरिएको
बिर्तामोड, ९ भदौ । झापा बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिब एक करोड लागतमा नयाँ बुधबारे बजार निर्माण गरेका हुन् ।
आज एक कार्यक्रमको आयोजना गरी बजारको औपचारिक शुभारम्भ गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बुधबारे बजारको औपचारिक शुभारम्भ गरेकी हुन् । उद्घाटन समारोहमा वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतको सहभागिता रहेको थियो ।
नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बारिह जान सकिने बजारमा लत्ता कपडा, जुत्ता, टेलरिङ, कस्मेटिक लगायतका व्यवसाय रहेका छन् । खानेपानी, विजुली र शौचालयसहितको सुविधा भएको बजारमा २ हजार देखि २५ सयसम्म सटरको भाडा व्यवस्था गरिएको छ । पाँच वर्षका लागि जमिन भाडामा लिएर व्यापारीहरुले आफ्नै लगानीबाट स्थापना गरेको बजारमा सहुलियत र गुणस्तरीय सामान पाइने बजारका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । बजारमा सोही भाडामा सुरक्षा गार्ड, सरसफाई लगायतको सुविधा समेत दिइने छ ।
नगर प्रमुख प्रसाईले व्यापारीहरुका लागि स्थानीय सरकार सधैं सकारात्मक रहेको बताइन् । उनले बुधबारे हटिया खाली गर्दा पनि व्यापारीहरुलाई सहयोग गर्ने बचन दिएको स्मरण गरिन् । उनले आगामी दिनमा स्थानीय सरकार व्यापारीको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता समेत जनाइन् ।
प्रकाशित मिति: २०२३-०८-२६ , समय : १८:४३:०३ , १ वर्ष अगाडि