झापा एक्सप्रेस , २४६६३ पटक हेरिएको
बिर्तामोड । नेकपा माओवादी केन्द्रका पदाधिकारी तथा सदस्यहरु भदौ १६ गते शनिबारदेखि जनताको घरघरमा जाने तयारी गरेका छन् । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनीहरु आम नेपालीको समस्या र सुझाव संकलनका लागि घरघरमा जान लागेका हुन् ।
२०६४ मा लोकप्रिय मत पाएपनि पछिल्लो निर्वाचनमा मतपरिणाम खस्कँदै गएपछि नेकपा माओवादी केन्द्र फेरी जनताको घरदैलोमा जान लागेको हो । मुलुक नेकपा माओवादी केन्द्रकै एजेण्डामा अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान अगाडी बढाउन लागेको हो ।
पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुगेका छन् । भदौ १६ गते अभियान उद्घाटन भएपछि उनीहरु तीन महिना जनताको घर घरमा गएर सुझाव संकलन गर्नुका साथै उनीहरुको कुरा सुन्नेछन् । पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाउने र पुनः माओवादीलाई २०६४ कै तहमा फर्काउन अभियान चलाउन लागिएको नेताहरु बताउँछन् ।
पार्टी तलबाट संस्थागत हुन लागेको केन्द्रीय सदस्य तथा अभियानका भद्रपुर कचनकवल इञ्चार्ज साबित्रीकुमार काफ्ले (समर)ले बताए । क्रान्तिकारी आन्दोलनको बिरासत बोकेको झापा जिल्ला उल्टो दिशातर्फ बगिरहेकाले अब माओवादी केन्द्रले अगुवाई गरेर पुनः पुरानै अवस्थामा फर्काउने बताए । एक्सन ओरिएण्टेड काम गर्ने, युवाहरुलाई गोलबद्ध गर्ने र माओवादीमय झापा बनाउने कार्यको जग हाल्ने काम यो अभियानमा गरिने उनले बताए ।
अर्का केन्द्रीय सदस्य पार्टीका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम)ले यो अभियान जनतापटी फर्कने अभियान रहेको बताए । नेता आङ्बोले अभियानको क्रममा जनताको कुरा सुन्ने र जागरण पैदा गराउने बताए । उनले नेताहरु मनैदेखि जनतमाझ गएको दाबी गरे ।
अभियानको झापामा तयारी पूरा झापामा जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । शुक्रबार पार्टीको जिल्ला समन्वय समितिको सभाहलमा झापामा खटिएका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरु र प्रेस सेन्टरका पदाधिकारी तथा सदस्यहरुको अन्तरक्रियामा अभियानको सम्पूर्ण तयारी पूरा भएको नेताहरुले बताएका हुन् ।
अभियानका लागि मेचीनगर र बुद्धशान्तिमा कोशी प्रदेश सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), अर्जुनधारा र बिर्तामोडमा केन्द्रीय सदस्य शिवकुमार मण्डल, भद्रपुर र कचनकवलमा केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर), बाह्रदशीमा प्रदेश कमिटीका सहसचिव रचना राई, हल्दीबारीमा केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशी, कनकाई र झापा गाउँपालिकामा केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद राजेन्द्र कुमार कार्की (नबिन), शिवसताक्षी र गौरीगञ्जमा केन्द्रीय सदस्य मोहन खड्का (हिमशिखर), कमल र गौरादहमा पार्टीका प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेती (शुसिल) र दमकमा केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम) को जिम्मेवारी रहेको जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
झापाका एक सय एकतीस वटै वडामा भोली (शनिबार) एकैसाथ अभियानको उद्घाटन हुने आचार्यले जानकारी दिए । आचार्यका अनुसार अभियानको क्रममा जनयुद्धको समयमा पार्टीलाई सेल्टर दिने, द्वन्द पिडित, अपाङ्ग, घाइते, शहिद परिवार, बेपत्ता परिवार, जनसेनामा भर्तीहुनेलाई पार्टीको तर्फबाट धन्यवादसहित योगदानका आधारमा कदर पत्र प्रदान गरिनेछ ।
प्रकाशित मिति: २०२३-०९-०१ , समय : २१:१०:०१ , १ वर्ष अगाडि