झापा एक्सप्रेस , २८२३२ पटक हेरिएको
सुलीकोट, भदौ २० गते । गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।
करेन्ट लगाएर माछा मारिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्लास्थित अस्थायी प्रहरी पोष्ट छेवेटारबाट गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै उनिहरुले डिउटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गर्ने र धाक–धम्की दिएर अभद्र व्यवहार गरेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग भएको जाल समेत बरामद गरिएको उहाँको भनाइ छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थपगरी सार्बजनिकबिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्तागरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।गोरखापत्रबाट
प्रकाशित मिति: २०२३-०९-०६ , समय : २०:५२:०३ , १ वर्ष अगाडि