झापा गाउँपालिकाका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

झापा एक्सप्रेस , ५३१४४  पटक हेरिएको

शरणामती। स्थानीय तह संघर्ष समिति झापा गाउँपालिकाले कार्हवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।समितिले आज बिहिबार कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मागहरुका बिषयमा प्रष्ट पार्दै स्थानीय तह संघर्ष समिति झापा गाउँपालिकाका संयोजक गौरव संग्रौलाले केन्द्रीय समितिको सर्कुलर अनुसार ध्यानाकर्षण पत्र बुझाएको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्हवाहक अध्यक्ष थपलियाले कर्मचारीको मागहरुको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताइन् ।

कर्मचारीहरुले केन्द्रीय सर्कुलरअनुसार हातमा कालो पट्टीसमेत बाँधेका छन् ।आजदेखि हातमा कालो पट्टी बाँधेर कामकाज गर्ने कर्मचारीहरुले बताएका छन् । दवावमुलक कार्यक्रमअनुसार हातमा कालो पट्टी बाधेर काम गर्ने र केन्द्रको दबाबमूलक कार्यक्रमको सर्कुलर अनुसार चल्ने संयोजक संग्रौलाले बताए ।

संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ ।त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विनासहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने लगायतका माग संघर्ष समितिको छ।

प्रकाशित मिति: २०२३-१०-०५ , समय : १९:२२:५७ , १ वर्ष अगाडि

error: Content is protected !!