कन्काईले बार्षिक उत्सवमा गर्यो पत्रकार झापाली सहित २३ जनालाई सम्मान

झापा एक्सप्रेस , ३३४२४  पटक हेरिएको

सुरुङ्गा / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कन्काई माध्यमिक विद्यालयले बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्नुका साथै पत्रकार लिलाराज खड्का झापाली सहित २३ जनालाई सम्मान गरेको छ ।

विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार महासंघ कोशी प्रदेश सदस्य , गोरखापत्र दैनिकका बिर्तामोड संवाददाता तथा कनकाई साप्ताहिक र कनकाई अनलाइनका संचालक / सम्पादक झापालीलाई वर्ष उत्कृष्ट सञ्चारकर्मीको रुपमा सम्मान गरेको हो ।

तेस्तै विद्यालयको स्थापना, विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षासेवीहरुलाई सोही अवसरमा सम्मान गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष टेकनारायण संग्रौला र पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटीलाई सम्मान गरिएको थियो भने सेवा निवृत्त शिक्षक खड्गप्रसाद आचार्य, रोहिता खतिवडा, सेवानिवृत्त कर्मचारी राजेश अघोरी र सावित्रा पाण्डेलाई सम्मानसहित विदाइ गरिएको थियो । त्यसै गरी, कार्यक्रममा दीर्घसेवी उत्कृष्ट शिक्षकको रूपमा गंगाराम खतिवडा, बल्लभकुमार गौतम र शारदा प्रसाईं पाठक तथा वर्ष उत्कृष्ट शिक्षकको रूपमा हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवाकोटी, चन्द्रप्रसाद पोखरेल, भुवन खतिवडा, खेमकुमारी आचार्य र भक्त खडकालाई सम्मान गरिएको थियो ।

सो अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा विद्यालयका लेखापाल चेतन रिजाललाई सम्मान गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा विशेष योगदान गरे वापत शिक्षकहरु शिशिर तिम्सिना, हर्क सुब्बा, लोकेन्द्रराज दाहाल, गोपाल खरेल र किशोर महतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

सो अवसरमा शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश शेर्पाको विशेष परिकल्पनामा आयोजित विद्यालयमा कुलपति कार्यक्रम सम्पन्न गरिएको थियो, जसमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति र शिक्षक, विद्यार्थी वीच अन्तरसंवाद भएको थियो ।

सो अवसरमा अन्तिम स्पर्धाबाट कनकाई तारा र कन्काई लिटल स्टार बनेका गायन र नृत्यतर्फका विजेता र उपविजेतालाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्य र शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री हीराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञत्रय मुनाराज
शेर्मा, सुमित्रा वांग्देल चेली र विराट किराँतीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रतिमान–गंगादेवी उत्कृष्ट छात्रवृत्ति कोष, धर्मशीला–सूर्य स्मृति अक्षयकोष, रामप्यारी शिवाकोटी छात्रवृत्ति कोष, खड्ग–देवीमाया शिवाकोटी छात्रवृत्ति कोष, धनबहादुर सुवेदी स्मृति अक्षयकोष, विन्दा स्मृति अक्षय कोष, खुश्बू ओली प्रतिभा अक्षयकोष, पुण्यवती गौतम अक्षयकोष, ईश्वरी–उषा कट्टेल अक्षयकोष, तिला–भक्ति संग्रौला अक्षयकोष, कन्काई भूतपूर्व विद्यार्थी समाज कोषका तर्फबाट विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा नगर प्रमुख पोखरेल र उपप्रमुख शिवाकोटीले विद्यालयका २ सय अठसठ्ठी जना विद्यार्थीलाई जनही ४ हजारका दरले प्रदान गरिने छात्रवृत्ति ४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरेर शुभारम्भ गरेका थिए । त्यसै गरी विभिन्न खेलकुद तथा सहकार्यकलापमा विजेता विद्यार्थीहरुलाई पदक तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा एसईई २०७९ र कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको विद्यालयका आधारभूत तहका संयोजक अम्बिकाप्रसाद रिजालले जानकारी दिए ।

कार्यक्रममा प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विव्यस अध्यक्ष प्रसाईंले शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षासेवी , चन्दादाताको संयुक्त प्रयासबाट नमुना विद्यालय बनाउन सकिने बताएका थिए । प्रसाईले विद्यालय अभिभावकको भावनालाई सम्मान गर्दै समयानुकूल रुपान्तरण गर्दै अघि बढ्न प्रयत्नशील रहेको बताएका थिए । कार्यक्रममा शिक्षकहरु शीतल रेग्मी, सुकृता भट्टराई, प्रिया कार्की, सुष्मा पाठक, किशोर महत, लोकेन्द्रराज दाहाल, हर्क सुब्बा, प्रवीण सिटौला, अभिभावक मञ्जु खडका र आमा समूह तथा विद्यार्थीहरुबाट साकेला, थारु, सन्थाल, लिम्बू, सुनुवार, मारुनी, संगिनी लगायका सांस्कृतिक प्रस्तुति राखिएको थियो । विद्यालयका सल्लाहकार संयोजक जनार्दन उप्रेती लगायतको आतिथ्य रहेको अाईतबार बाट सुरु गरि दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सल्लाहकार शम्भु ढकाल (सुस्केरा), नेपाली कांग्रेसका नगर उपसभापति सन्तोष रायमाझी, नेकपा एमाले नगर अध्यक्ष गोकर्ण ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्राथमिक तहका संयोजक खेमराज भट्टराईको विशेष संयोजनमा सर्वाङ्गसुन्दर योग लगायत विद्यार्थीहरुले सांगीतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रम विद्यालयका संस्थापक स्व.जनमेजय अधिकारीको तस्वीरमा पुष्पार्पण र माल्यार्पण गर्दै आरम्भ गरिएको थियो । औपचारिक कार्यक्रम सहायक प्रअ तीर्थराज खरेल, शिक्षकहरु भीमप्रसाद दाहाल , संगीता उप्रेतीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अश्लेषा कडेँल, सृजा प्रसाई, श्रद्धा गौतम र नितेश विकले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : १९:४०:४२ , १० महिना अगाडि

error: Content is protected !!