झापा एक्सप्रेस , ११७६७ पटक हेरिएको
सन्तोष शर्मा
झापा, ५ चैत । झापाको कनकाई नगरपालिकाका कृषकले करिब एक करोड ५० लाख बराबरको तरकारी उत्पादन गरेका छन् ।
नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै यहाँका कृषिक तरकारी खेतीमा आकर्षित भएका छन् । जसको फलस्वरुप रू एक करोड ५० लाख बराबरको विभिन्न प्रकारका तरकारी उत्पादन भएको कनकाई नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।
“विभिन्न कृषक समूह बनाएर आइपीएम तालिम दिएका छौं”, उहाँले भन्नुभयो, “तालिम लिएसँगै कृषकहरुले तरकारी खेती गरिरहेका छन् ।” विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ कृषक विषादीरहित तरकारी उत्पादन लागेको उहाँको भनाइ छ ।
नगरपालिकाले दिएको तालिमले कृषकले गुणस्तरीय तरकारी उत्पादन गर्न सक्षम हुनुका साथै कार्यालय स्थापना गरेर कृषकर्ममा लाग्न सक्षम भएको उहाँले बताउनुभयो । कृषकमा विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विशवास बढेको उहाँले बताउनुभयो ।
विषादीरहित तरकारी उत्पादन भएसँगै बजारको अभाव नभएको उहाँको भनाइ छ । “जहाँ–जहाँ विषादीरहित तरकारी उत्पादन हुन्छ, त्यो ठाउँमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन्”, कृषि शाखा प्रमुख उप्रेती भन्नुहुन्छ, “जसले कृषकलाई तरकारी उत्पादनमा थप ऊर्जा मिलेको छ ।”
सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खान योग्य भने पनि अनुगमनका क्रममा ४ देखि २ प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ ।
नगरले कृषि समूह बनाएर तालिम दिने गरेको छ । हालसम्म सात वटा कृषि समूहले २१ बिघामा तरकारी खेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरले नमूना खेतीका लागि आवश्यक बीऊ, मल, प्राविधिक सहयोग गरिरहेको छ । नमूना खेतीका आधारमा कृषकहरुले समूह बनाएर ठूलो क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् ।
यो वर्ष नगरले दिएको साढे पाँच मन बीउ आलुको बिऊबाट कृषक समूहले एक सय २५ मन आलु फलाएका छन् भने कृषकले टमाटर, बन्दा, लहरेबाली, काँक्रा, लौका, गाँजर, आलू लगायतका तरकारी खेती गरिरहेका छन् ।
विषादीयुक्त खाद्यवस्तुले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगर प्रमुख राजेन्द्र पोखरेल बताउनुहन्छ । “मानव जीवनका लागि अत्यावश्यक वस्तु नै विषसरह बन्दै गएको छ”, उहाँले भन्नुभयो, “समृद्धिको महत्वपूर्ण सूचक स्वास्थ्य हो, स्वस्थ्य हुन स्वस्थ खाना चाहिन्छ, त्यसका लागि कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन जरुरी छ, हाम्रो अभियान पनि त्यही हो ।”
नगरमा सिञ्चाइ सुविधा बृद्धि गर्न प्रत्येक वर्ष सिञ्चाइ मोटर वितरण गर्दै आएको छ । गत वर्ष रू ५० लाखको सिञ्चाइ मोटर वितरण गरेको नगरपालिकाले चालू आर्थिक वर्षमा करिब रू ७० लाखको सिञ्चाइ मोटर खरीदका लागि प्रक्रिया अघि बढाएको छ । कनकाईमा करिब २५ सय बिघा खेतीयोग्य जमिन रहेको कृषि शाखाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०३-१८ , समय : २०:५४:३३ , ९ महिना अगाडि