झापा एक्सप्रेस , ५२०८१ पटक हेरिएको
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ कालिका टोलमा बुधबार बिहान मृत अवस्थामा फेला परेकी विष्णुमाया बिष्टको हत्या भएको पुष्टि भएको छ ।
घरमा एक्लै भएको अवस्थामा ६६ वर्षीया बिष्टलाई बुधबार राति खन्तीले हानेर हत्या गरिएको हो।
बिष्टको टाउकोमा खन्तीले हानेको चोट रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
मङ्गलबार राति ११:४५ बजे घरमा चोर आएको भन्दै मृतक बिष्टले काठमाण्डौमा भएका छोरा प्रकाशलाई फोन गरेकी थिइन् । घरमा चोर आएको भन्दै आमाले फोन गरेपछि छोरा प्रकाशले श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए। छिमेकीहरू भेला भएर घर वरपर लाइट लगाएर हेरेको र कोही पनि मानिस फेला नपरेपछि उनीहरू आ-आफ्नो घर फर्किएको स्थानीय श्रीप्रसाद सिटौलाले जानकारी दिए । घर पुगेर १२:१७ बजे सिटौलाले बिष्टलाई फोन गरेर सुत्नुभयो भन्दै सोधेका थिए, उत्तरमा बिष्टले अब सुत्न लागेको भन्दै जवाफ दिएको सिटौलाले बताए ।
बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव भुइँमा रगत्याम्म अवस्थामा कोल्टे परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट कुकुर मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिएको प्रहरीले जनाएको छ ।
उनको छोरा इन्द्र अमेरिका र प्रकाश काठमाडौँमा रहेकाले घरमा मृतक केहीदिन देखि एक्लै बस्दै आएकी थिइन् ।
प्रहरीले घटनाको सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।
मृतको सब पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०५-०८ , समय : १८:०९:५६ , ८ महिना अगाडि