झापा एक्सप्रेस , ५१२०६ पटक हेरिएको
झापा ।झापाको झापा गाउँपालिका वडा नंं. ४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकमा फेरि गोपीकृष्ण पराजुलीले निरन्तरता पाउने भएका छन् । मंगलवारसम्म डिल्लीराज माविमा दुईजना प्रधानाध्यापक कार्यरत रहेका थिए । गत बैशाख १४ गते झापा गाउँपालिकाले विरेन्द्रप्रसाद गुप्तालाई प्रधानाध्यापकबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको थियो ।
विद्यालयमा दुईजना प्रधानाध्यापक भएपछि विद्यार्थी , शिक्षक, कर्मचारी र अभिभावक दुविधामा परेको थिए ।सम्मानित उच्च अदालत विराटनगर , इलाम इजलासको जेठ ९ गतेको सुनवाईले विरेन्द्रप्रसाद गुप्तालाई प्रधानाध्यापकको रुपमा कामकाज गर्न अन्तरिम आदेश जारी नगरी निमित्त प्रअ रहेका पराजुलीलाई निरन्तरता दिने भनी आदेश जारी गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाम शेखले गत बैशाख २४ गते उच्च अदालत नियमावली २०७३ को नियम ३० वमोजिम अन्तरिम आदेशका लागि पूरक निवेदन पेश गरेका थिए । तर उच्च अदालतले उल्लेखित रिट निवेदनमा उल्लेख गरेको तथ्य र सो निवेदनका सम्वन्धमा यस अदालतबाट भएको आदेशपछि पूरक निवेदन गर्दाको अवस्थामा कुनै तात्विक फरक परेको नदेखिएको हँुदा निवेदन मागबमोजिम गरिरहन नपर्ने जनाएको हो ।
जेठ २ गते विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले बैठक बसी गुप्तालाई प्रअको जिम्मेवारी दिएका थिए भने पराजुलीलाई शिक्षकको रुपमा काम गर्न निर्देशन दिएका थिए । गुप्तालाई प्रअको जिम्मेवारी दिएपछि झापा गाउँपालिकाको कार्यालयले जेठ ४ गते विद्यालय व्यवस्थापन समितिमाथि अदालतको अवहेलनाको मुद्धा दायर गरेको थियो ।
गुप्ताले ब्यवस्थापन समितिबाट निर्णय गराउनु अघि लामो समय सम्म विद्यालयमा अनुपस्थित रहेतापनी ज्येष्ठ ४ गतेदेखी भने नियमित रुपमा निमित्त प्रधानाध्यापक द्वारा तोकिएका आफ्ना कक्षाहरुमा अध्यापन गराईरहेको शिक्षकहरुले बताए।
बिगत लामो समयदेखी विद्यालयको पठनपाठनमा यी र यस्ता गतिविधिले असर परिरहेको थियो। विभिन्न चरणमा भएका आन्दोलन र विद्यालयमा भएको तालाबन्दिले कलिला बालबालिकासंग अन्याय भएको भन्दै स्थानियले गुनासो गर्दै आएका थिए। शिक्षक प्रतिनिधि, सामाजिक लेखा परीक्षण संयोजक, शिक्षक तथा अभिभावकले बारम्बार विद्यालयमा वीरेन्द्र प्रसाद गुप्ताले गलत कार्यहरु गरिरहेको भन्दै जानकारी गराउँदै निवेदन हाल्दै आएका थिए, गाउँपालिकाले छानबिन गरि गुप्ताले गरेका विभिन्न कार्यहरु नियमबिपरीत भएको भन्ने ठहर गर्दै शिक्षा समितिको सिफारिसमा उनलाई पदिय जिम्मेवारीबाट हटाएको थियो।
झापा गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
प्रकाशित मिति: २०२४-०५-२३ , समय : १९:१७:१६ , ७ महिना अगाडि