झापा एक्सप्रेस , ४३००३ पटक हेरिएको
दमक । नेकपा माओवादी केन्द्र दमक जनताको मन जित्दै घरघर पुग्न थालेको छ । उसले जनतालाई उपहारको रूपमा फलफूलका विरुवासमेत लिएर घरघरमा पुगेको हो । माओवादी केन्द्रको यो रचनात्मक र सृजनात्मक कामको जताततै प्रशंसा पाइरहेको हो । माओवादी दमकले एक वर्षभित्र एक लाख विरुवा रोप्ने र वितरण गर्ने लक्ष्य लिएको छ ।
माओवादी दमकले सुरु गरेको वृक्षरोपण कार्यक्रमअन्तर्गत हालसम्म करिब २४ हजार बढी विरुवा रोप्नुका साथै स्थानीयलाई वितरण गरेको छ । माओवादी कोशीले सुरु गरेको पूर्वेली संगठन सदृढिकरण अभियानलाई सृजनात्मक बनाउन वृक्षरोपण तथा विरुवा वितरण अभियान थालिएको नेकपा नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए ।
नेकपा माओवादी दमकले बिहीबार मात्र सर्वोदय, सूर्योदय, सनराइज, पृथ्वी माविलगायत विद्यालयका विद्यार्थीलाई विरुवा बाँडेको छ । वृक्षारोपण तथा विरुवा वितरण अभियान दुई साताअघि सुरु भएको उनले बताए । ‘अभियानअन्तर्गत हालसम्म २४ हजार विरुवा रोप्ने र वितरण गर्ने काम गरियो,’ उनले भने, ‘बुधबार विश्व वातावरण दिवसको अवसरमा एकै दिन ६ हजार फलफूलका विरुवा स्थानीयसँगै दमकका विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरेका छौँ ।’
माओवादी केन्द्रले दमक नगरबासीको घर-घरमा गएर विरुवा रोप्दै आएको माओवादी केन्द्र नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । उनका अनुसार लिची, कागती तथा अन्य फलफूलका विरुवा वृक्षरोपण तथा स्थानीयलाई वितरण गर्दै आइएको छ । ‘दमकमा १० वटा वडा छ । हरेक वडामा पार्टीको दश/दशवटा टोल कमिटी पनि छ । यही टोल कमिटीले प्रत्येक टोलमा आवश्यकताअनुसार वृक्षरोपण तथा वितरण गर्दै आएको छ,’ उनले भने, ‘पूर्वेली संगठन सदृढिकरण अभियानको कार्यक्रममा आउने सबै नेताले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै आउनुभएको छ ।’ अध्यक्ष बस्नेतले दमकलाई पाँच वर्षभित्र लिची र कागतीमा आत्मनिर्भर बनाउने योजनाअनुसार वृक्षरोपण अभियान अघि बढाइएको जानकारी दिए । ‘दमकमा लिचीको सम्भावना अत्यन्तै छ । कागती पनि उसै गरी फल्छ । हामीले एक घर दुई विरुवाको अभियान सञ्चालन गरेका छौँ । हामीले यी दुई फलफूललाई प्राथमिकता दिएका छौँ । अरू फलफूल पनि वितरणसँगै वृक्षरोपण त गरिनै रहेका छौँ,’ उनले भने, ‘ लिची र कागती आँगनमा रोपिने भएकाले पनि यसको संरक्षण सहजै हुन्छ ।’
नेकपा माओवादी केन्द्र दमकका इञ्चार्ज बेदु गौतमले नागरिकको घरघरसँगै दमकका सरकारी कार्यालयहरूमा समेत विक्षरोपण गरिँदै आएको बताए । यो अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको गौतमको भनाइ छ । ‘विरुवा माग्दै आउने नागरिको संख्या उल्लेख्य छ । यसले हामीलाई अभियान सञ्चालन गर्न उत्साहित बनाएको छ,’ उनले भने, ‘भारतबाट आउने फलफूल विस्तापित गर्दै दमकलाई आत्मनिर्भर बनाउन हामी लागि पर्नेछौँ ।’
वृक्षरोपण अभियानमा विरुवा संकलनको जिम्मेवारी पाएकी नगर सचिवालय सदस्य समुन्द्रा लामाले पार्टीलाई जनतासँग जोड्ने यो एउटा अवसर भएको बताइन् । उनले विभिन्न संस्था तथा सरकारी निकायले विरुवा उपलब्ध गराउन सहयोग गरिरहेको बताइन् ।
माओवादी नगर सचिव डम्बर बोहोराले यो अभियानलाई निरन्तरता दिने बताए । उनले दमक नगरपालिकाले कानमा तेल हालेर सुतेकाले आफूहरूले यो अभियान चलाउनुपरेको बताए ।
विश्व वातावरण दिवसको अवसरमा बुधबार दमकमा विक्षरोपण गर्न आइपुगेका नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दमक माओवादीले देशभर वृक्षरोपण गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । यसले पार्टी कार्यकर्तामा उर्जा थप्नुका साथै नागरिकसम्म पार्टीलाई पुर्याउन मद्दत गरेको बताए । उनले विश्वको वातावरणमा नकारात्मक प्रभाव परिरहेका वेला जुनसुकै पार्टी र संस्थाले वृक्षरोपण गरे पनि सहयोग र समर्थन गर्नुपर्ने बताए । माओवादीको यो अभियानमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: २०२४-०६-०६ , समय : २०:०८:२५ , ७ महिना अगाडि