झापा एक्सप्रेस , २७६०० पटक हेरिएको
कनकाई । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै……
यही भाका तथा बोलको भक्तिगान र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल झापाको सताक्षीधाममा ढोलेतालेसहित धामीझाँक्री हरुको र्याली सहितको भेला सम्पन्न भएको छ । साउन महिनाभर गुप्तवास बसेका धामीझाँक्री सोमबार बिहान जनैपूर्णिमाको अवसरमा जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका हुन ।
साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन सोमबार धार्मिकस्थल झापाको झिलझिलेमा रहेको प्रवेशद्वारबाट सताक्षीधाममा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालले जानकारी दिए ।
यो महिनाभरी गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम परिसरमा र्याली तथा भेला आयोजना गरिएको थियोे ।
धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिन्थ्यो ।
जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच् नाचेका थिए । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम खरेलले बताए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम जिल्लाका माता, झाँक्रेनी ८४ जना तथा धामी एवम् झाँक्री ५३ गरि १ सय ३७ जना धामीझाँक्रीहरुको सहभागीता रहेकोे प्रदेश संयोजक भेट्वालले जानकारी दिए ।
कार्यक्रममा सताक्षीधाम गेटबाट लामबद्ध भई ब्यानर सहित आ–आफ्नो परम्परा अनुसारका धामीझाँक्री पहिरन लगाई बाजागाजा, ढोल, ढ्यांग्रो, थाल, झ्याम्टा, शंख, घन्टी बजाई निराकार प्राकृतिक देविदेवता को भक्ति गर्न झरनामा गई धुपबात्ती गरी आ–आफ्नो मन्त्र र ज्ञानको सिद्धिका लागि प्रार्थनन समेत गरिएको थियोे ।
त्यसपछि साकार रुपका शिवलायमा पुगि जल अर्पण गरी अन्दाजी ७ फुटको त्रिशुल स्थापना गर्नुका साथै कार्यक्रममा सहभागीलाई कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले स्वागत गरेका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय धामीझाँक्रीविद् भोलानाथ बाँस्तोलाले अहिलेको नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत भएको बताए । ‘यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान हो, धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ,’ उनले भने, ‘यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्छ ।’ अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नविकरण गर्नका लागि विशेष दिनमा झाँक्रीहरुको तीर्थको आयोजना गरिएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रम तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेशको आयोजनामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०८-२० , समय : १८:१८:१९ , ४ महिना अगाडि