दुर्गा प्रसाईँविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन महाअभियानको आग्रह

झापा एक्सप्रेस , ४०८३  पटक हेरिएको

बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईँविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ । अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरिएको छ । सो नीति सरकारले तत्काल फिर्ता नलिए आज देशैभर विरोध सभा, राँके जुलुस, विरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौँ जिल्ला अदालतले प्रसाईँ, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीहरूमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

प्रकाशित मिति: २०२४-०९-१९ , समय : १२:४५:२९ , ३ महिना अगाडि

error: Content is protected !!