बुद्धशान्ति २ का वडाध्यक्ष ओली निलम्बित

झापा एक्सप्रेस , ३३६०  पटक हेरिएको

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली (गोपाल) निलम्बित भएका छन्। सेवाग्राहीसँग घुस लिएको सम्बन्धमा थुनामा राखी अनुसन्धान गर्नुपर्ने भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको पत्र पठाएको हो ।

आयोगले बुद्ध शान्ति गाउँपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा जिल्ला झापा बुद्धशान्ति गाउँपालिका अन्तर्गत जग्गाको लिखत प्रमाणित सम्बन्धी कार्यका लागि जिल्ला झापा, बुद्धशान्ति गाउँपालिका बडा नं.२. पाँचविघे वस्ने अग्निप्रसाद ओलीको नाति, कृष्णप्रसाद ओलीको छोरा ऐ, बडाका वडाध्यक्ष वर्ष ६८ का डिल्ली प्रसाद ओलीले सेवाग्राही अमरनाथ चौहानसँग घुस/रिसवत लिएको कसुरमा मिति २०८१।०६।०८ गते पकाउ परेका डिल्ली प्रसाद ओलीलाई चुनामी राखि अनुसन्धान गर्नको लागि मिति २०८१।०६।०८ गतेबाट नै लागु हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत, काठमाण्डौबाट म्याद थप भई आएको र यसरी थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानूनी प्रावधान रहेकोले जानकारी एवंम् आवश्यक कार्यार्थ अनुरोध छ।’

ओलीलाई सेवाग्राही चौहानसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बिर्तामोडको हनुमान सेन्ट्रलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : १८:११:५५ , ३ दिन अगाडि