झापा एक्सप्रेस , २२१८० पटक हेरिएको
गत असोज ११ गते अविरल वर्षाको कारण डुबानमा परेका झापा गाउँपालिका वडा नम्बर ६ चन्द्र बस्तीमा पीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
अमेरिकामा बस्ने आरजु सिटौलाको अगुवाईमा पाँचजना नेपाली चेलीहरूले व्यक्तिगत रुपमा सङ्कलन गरेको नेपाली रुपैयाँ ६० हजार बराबरको राहत सामग्रीहरू शनिबार वितरण गरिएको हो ।
विरिङ खोलामा आएको बाढी चन्द्र बस्तीमा पसेपछि सो क्षेत्र डुबानमा परेको थियो । डुबानका कारण अन्नपात, लत्ताकपडा नष्ट भएको समाचार हेरेका ति चेलीहरूले मानवीय सहयोगको भावना प्रकट गरेर उनीहरूका आफन्त देवी सेडाई, सुमित्रा सिटौला खड्का मार्फत सहयोग सामग्री उपलब्ध गराइएको हो ।
धेरैजसो विपन्न समुदायको बसोवास रहेको चन्द्र बस्तीका पीडितहरूलाई यस अघि वडा कार्यालय मार्फत पनि सहयोग उपलब्ध गराइएको थियो । अहिले ३३ परिवारलाई प्रति घर १ बोरा मुरै, १ थान ब्लाङकेट, खाने तेल, म्याट सहयोग प्राप्त भएर वितरण गर्न पाएकोमा वडाध्यक्ष नविनकिशोर थापाले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।
राहत वितरणमा पन्थापारा प्रहरी चौकीका इन्चार्ज राजेश पौडेल, स्थानीय सामाजिक व्यक्तित्वहरू केशव बजगाईँ, सौरभ कार्की, दुर्गा कार्की, वडा कार्यालयका कर्मचारी कुवेर थपलियालगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१०-२० , समय : १८:४६:२९ , २ महिना अगाडि