झापा एक्सप्रेस , १९९७१ पटक हेरिएको
झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ ।
यस अघिका वडा अध्यक्ष एमाले पार्टीका दिर्घबहादुर थापाको निधन भए पछि आगामी मंसीर १६ गते हुने उपनिर्वाचनमा भाग लिन १ जना स्वतन्त्र सहित ९ जनाको उम्मेद्वारी परेको हो । मुख्य राजनैतिक दल नेकपा एमोलको तर्फबाट तुलाराम बस्नेत, नेपाली काँग्रेसबाट राम गोपाल ओली, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापाको उम्मेद्वारी परेको छ । यस्तै यस अघिका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मी प्रसाद ओलीले पनि पुन उम्मेद्वारी दिनु भएको छ ।
यस्तै राप्रपाबाट नारायण प्रसाद निरौला, मंगोल नेशनल अर्गानाइजेशनबाट पदम बहादुर तामाङ, नागरिक उन्मुक्तीबाट जमुना राजवंशी, जनमतबाट शुकलाल राजवंशी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत तथा झापा जिल्ला अदालतका न्यायधिस उमेशप्रसाद लुईटेलले बताउनु भयो ।
आज उम्मेद्वारी दिएका उम्मेद्वारहरुको भोली उम्मेदवारको विरोधमा उजुरी दिने र पर्सी उजुरी उपर छानविन गरी ५ गते उम्मेद्वारको नामावली सार्वजनिक गरिने उहाँले बताउनु भयो ।
उम्मेद्वारी दर्ता गर्न आएका दलहरुले पार्टीका झण्डा सहित नाराबाजी गर्दै कार्यालय परिसरमा आइपुगेका छन् । उम्मेद्वारी दर्तामै कसको धेरै जनसंख्या भन्ने देखाउने प्रयास यस अघि देखि नै रहँदै आएको छ । यस अघिका उम्मेद्वार थापा एमालेबाट निर्वाचित हुनु भएको थियो । उहाँ नेकपा माओवादी केन्द्रमा रहँदै आएको भए पनि पार्टी खण्डित हुँदा एमालेमा प्रवेश गरी निर्वाचनमा उठनु भएको थियो । उहाँको गत असारमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०२४-११-१७ , समय : १९:१७:३४ , ४ हप्ता अगाडि