झापा एक्सप्रेस , २५८९७ पटक हेरिएको
पछिल्लो समय व्यापार बढाउन अनेक बहाना रच्न थालिएको छ । कसैले सामाजिक सञ्जालमार्फत् आफ्नो व्यापारको प्रवद्र्धन गरिरहेका छन् भने कसैले नयाँ विज्ञापन गरेर ग्राहक तानिरहेका छन् । सामाजिक सञ्जालमा केही समययता एउटा विज्ञापन भाइरल बनेको छ ।
मुलुकको अस्थिर राजनीतिलाई जोडेर एक व्यापारीले आफ्नो व्यवसायको विज्ञापन गरेको देखिन्छ । यसले धेरैको ध्यान खिचेको छ । विज्ञापनमा लेखिएको छ,‘यो सत्ता समिकरण कति समय टिक्छ भन्न सकिँदैन तर पोखरेली ढुङ्गा एकपटक लगाएपछि जुगौंजुग टिक्छ ।’
विज्ञापनमा एकातर्फ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हात मिलाइरहेको तस्बिर देख्न सकिन्छ । अर्कोतर्फ पोखरेली ढुङ्गा छापेको घरको फोटो प्रकाशित छ ।
ओली र देउवाले हात मिलाएको तस्बिरमा बेठीक र घरको तस्बिरमा ठीक चिन्ह लगाइएको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘ढिलो आयो तर कडा आयो ।’ त्यस्तै, अर्कोले भनेका छन्,‘गज्जबको स्लोगन छ हौं ।’
उक्त विज्ञापन झापाका लीलाराज झापालीको हो । उनको बिर्तामोडको शनिश्चरे रोड र दमकको क्याम्पस मोडमा पोखरेली ढुंगा तथा होम डेकोरेसन कम्पनी सञ्चालनमा छ । कम्पनीले आँगन, घरको भित्ता, गाडी राख्ने पार्किङ, मन्दिर, सार्वजनिक स्थललगायतमा पोखरेली ढुङ्गा लगाउँदै आएको बताइन्छ ।
धेरैले आफ्नो विज्ञापनलाई रमाइलोको रुपमा लिएको झापाली सगर्व सुनाउँछन् । सरकार झैँ आफ्नो माल कच्चा नभएको उदाहरणका लागि सो विज्ञापन गरिएको उनको जिकिर छ । जनआस्थासँगको कुराकानीमा भने,‘सरकार कच्चा छ । सत्ता समीकरण फेरिरहन्छ । तर, मेरो माल पक्का छ । एकचोटि पोखरेली ढुंगा लगाएपछि जुगौंजुग टिक्छ भन्ने उदाहरण मात्र दिएको हुँ । विज्ञापनलाई धेरैले रमाइलोको रुपमा लिनुभएको छ ।’
कन्काई नगरपालिका–३, सुरुङ्गाका झापालीले कोरोना महामारीपछि यो व्यवसाय थालेका हुन् । झापाका सीमित व्यक्ति मात्रै यस्तो व्यवसायमा आबद्ध छन् ।
-जन आस्था
प्रकाशित मिति: २०२४-११-१७ , समय : २०:४१:५५ , ४ हप्ता अगाडि