धनिपूर्जा नेपालको, जमिन भारतमा

पार्थ मण्डल , ३५६६३  पटक हेरिएको

झापा । भद्रपुर नगरपालिका–३ बैसाबारीका २७ वर्षीय प्रदीप गणेश नेपाल–भारत सीमा नाका भएर बग्ने मेची नदी किनारको बगरमा खेतीपाती गर्दै आइरहेका छन् ।

नेपाली धनिपुर्जा भएको १५ कट्ठा जमिन लिजमा लिएर प्रदीप वर्षौँदेखि खेतीपाती गर्दै आइरहेका छन् । तर, विडम्बना प्रदीपले खनजोत गर्दै आइरहेको जमिन अहिले भारतीय भूमिमा परेको छ । भारतमा परेको जमिनको नेपाली धनिपूर्जा छ ।

स्थानीय विशाल थेबेको नाममा नेपाली धनिपूर्जा रहेको कृषक प्रदीपको भनाई छ ।

नेपाली धनिपूर्जा भएको जमिनमा खेतीपाती गर्दै आइरहेका प्रदीपलाई भारतीय पक्षले बारम्बार अवरोध गरिरहेका छन् ।

‘एक महिनाअघि मात्र भारततर्फका केही स्थानीयहरू ट्याक्टर लिएर खनजोत गर्न यहाँ आइपुगेका थिए,’ प्रदीपले भने, ‘भारतीयहरु भन्छन् यो जमिन भारतीय भूमि हो, यो जमिनको धनिपूर्जा हामीसँग छ ।’ नेपाली धनिपूर्जा भएर के गर्नु ? सीमा पीलरले यो जमिन भारत भइसक्यो । ‘ढिलो चाँडो यो जमिन भारतीय पक्षले अवश्य लान्छ,’ उनले भने ।

सीमा पिलर १०९÷८ देखि १०९÷१० सम्म पर्ने बगरको सयौँ बिगाहा जमिन पहिला नेपाली भूमि थियो । ‘१५–२० वर्ष भयो होला जमिन रातारात भारत भयो,’ स्थानीय महेन्द्रलाल गणेशले भने, ‘यो धनिपूर्जा भएको जमिनमा यहाँका स्थानीयले वर्षौँदेखि खनजोत गर्दै आइरहेका छन्, अहिले नक्साले भारत देखायो, जसले समस्या उत्पन्न भयो ।’

जङ्गे पिलर नदी पारी भारत तिरै छ । ‘पहिला त यो भूभाग नेपाल थियो, अहिले कसरी इडिया भयो थाहा नै पाएनौँ,’ स्थानीय शम्भुलाल गणेशले भने । शम्भुलाल १५ कट्ठा जमिन लिजमा लिएर खेतीपाती गर्दै आइरहेका छन् । उनको परिवार पाल्ने मुख्य पेसा नै खेतीपाती हो । खेतीपाती गर्ने जमिन भारतले दाबी गर्ने चिन्तामा उनी देखिएका छन् । उनी भन्छन्– ‘भारतीय नागरिकहरू जमिन दाबी गर्न आइरहन्छन्, अस्ति पनि ट्याक्टर लिएर जमिन खन्न नै आइपुगेको थियो ।’

उनीहरू ट्याक्टर लिएर आएपछि सीमामै विवाद भएको थियो । गाउँले तुरुन्त सशस्त्र प्रहरीलाई खबर गरेका थिए । ‘सशस्त्र प्रहरीले भारतीय एसएसबीसँग समन्वय गरेर विवाद मिलाएर उनीहरूलाई फिर्ता पठाएका थिए,’ उनले थपे । अहिलेलाई त विवाद मिल्यो, तर भारतीयहरू जमिन हत्याउने पक्षमै देखिएको उनको भनाई छ ।

१०९÷९ नम्बर पिलर नजिकै स्थानीय सुरज लिम्बुको १२ कट्ठा जमिन लिजमा लिएर विगत पाँच वर्षदेखि खेतीपाती गर्दै आइरहेका मनोहर गणेशका अनुसार भारतीय एसएसबीहरुले गाउँलेलाई दुःख दिएको छैन । एसएसबीहरु सीमा हेर्न आउँछन्, अनि फर्किन्छन् । त्यहाँका जनता आएर जबरजस्ती दुःख दिन खोज्छन् ।

‘भारतीयहरू आएपछि सबै गाउँलेहरू एकजुट भएर खेदाउनु पर्छ, मनोहरले भने, भारतीयहरूसँग जमिनको प्रमाण छैन, हामीसँग जमिनको धनिपूर्जा छ, अनि कहाँ त्यतिकै जमिन लिन दिन्छौ त उनीहरूलाई ।’ यस्तो चलिरहेको छ यहाँ, अप्रिय घटना घट्छ कि भन्ने गाउँलेमा चिन्ता देखिएको बताउँदै स्थानीय रञ्जित गणेशले भने, ‘दशगजा क्षेत्र छाडेर नै खेती लगाइन्छ, एसएसबीले केही भन्दैन, त्यहाँ जनता आएर बुरुकबुरुक उफ्रिन्छ ।’

यता बगर खेतीको स्थलगत अनुगमनमा पुगेका भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले नेपाल–भारतको संयुक्त सीमाकंन टोलीले सर्व गरेर सीमा नाका छुट्टाए पनि हाल जसको जमिन जता परेपनि त्यही व्यक्तिले भोग चलन गर्न पाउनु पर्छ भनी आन्तरिक मौखिक सहमति भएको बुझ्नमा आएको बताए । बैसाबारीसहित भद्रपुरको केही स्थानमा सीमावर्ती जमिनको बारेमा यस्तै समस्या आएको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘नेपाली धनिपूर्जा भएको र भोग चलन गर्दै आइरहेको जमिनको बारेमा दीर्घकालीन समाधान खोजिनु पर्छ, यसका लागि नेपाल सरकारले भारतीय सरकारसँग सहकार्य गरेर एउटा निकास निकाल्नुपर्छ ।’

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ११:२६:४६ , १ दिन अगाडि

error: Content is protected !!