जेष्ठ नागरिक भेट्दा आफ्नै बुवा —आमा भेटेको याद आयो — नगर प्रमु्ख थोप्रा

Jhapa Express , ६२८४  पटक हेरिएको

विनोद सापकोटा
शिवगञ्ज /
जेष्ठ नागरिकहरू समाजको महत्वपूर्ण अंग हुन् । जसको अनुभव र ज्ञानले हाम्रो समाजलाई समृद्ध बनाउँछ । तर, समयसँगै जेष्ठ नागरिकको जीवनमा आएको परिवर्तनले उनीहरूको हक, अधिकार र सुविधामा केहि व्यवधानहरु रहेछन् ।

जेष्ठ नागरिकहरुको समस्या, गुनासा, तिता— मिठा कुराको अनुभव साटासाट, पारिवारिक मेल— बेमेल लगायत आर्थिक, समाजिक, सांस्कृतिक, धार्मिक कुराको सुनवाई गर्ने उद्देस्यले जेष्ठ नागरिक संग मयेर कार्यक्रम शिवसताक्षीमा संचालित छ । जेष्ठ नागरिकहरुको समस्याहरूलाई समाधान गर्नका लागि नगर प्रमुख मेघाहाङ थोप्राकै पहलमा जेष्ठ नागरिक संग मेयर कार्यक्रम संचालन भईरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । मंगलबार शिवगञ्जमा एक भव्य कार्यक्रम सम्पन्न भयो । जुन कार्यक्रम नगर प्रमुख र जेष्ठ नागरिक बीचको दोहोरो संवादका लागि आयोजना भएको थियो ।

यस अघि वडा नम्बर १, २ र ३ का जेष्ठ नागरिकले वडा नम्बर २ को मंगलबारेमा हाक्काहाक्की सुझाव र गुनासो गरे । अव २४ पनि साविकका सतासीधामका जेष्ठ नागरिक संग मेयर कार्यक्रम संचालन हुने छ ।

कार्यक्रममा नगर प्रमुखले जेष्ठ नागरिकसँग संवाद गर्दै उनीहरूको समस्याका बारेमा जानकारी लिए । जेष्ठ नागरिक भेटघाट चौतारीको सभाहलमा २ सय बढी जेष्ठ नागरिकका कुरा सुन्दै नगर प्रमुख थोप्राले तत्काल समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।

जेष्ठ नागरिकले नगर प्रमुख संग समस्या र सुझावहरू राखे । सबैभन्दा धेरै गुनासो बैक तथा वित्तिय सस्थामा लाईनमा बस्नुपर्ने, सार्वनजिक यातायातका साधनमा भाडा छुट नदिने, औषधी उपचारका लागि स्वास्थ्य संस्थामा जाँदा अरु नागरिक सरह लाइनमा उभिनु पर्ने जस्ता गुनासा जेष्ठ नागरिकले राखेका थिए । बीमा योजनामा जेष्ठ नागरिकलाई अपमानित गर्ने गरिएको, चिकित्सकले सिफारिस गरिएका औषधी नगरका स्वास्थ्य संस्थाले नदिएको जस्ता महत्वपुण गुनासा राखेका थिए ।

जेष्ठ नागरिकको भेटघाट चौतारीको भवनमा शौचालय भएको पानी नभएको, भवनको घेराबारा, फल्स सिलिङ नभएको गुनासो जेष्ठ नागरिकले गरे । उनिहरुले हरेक वडामा जेष्ठ नागरिकका लागि भवनको आवस्यक्ता रहेको पनि औल्याए । नगरका हरेक कार्यालयमा जेष्ठ नागरिकहरूलाई प्राथमिकता नदिएको पनि जेष्ठ नागरिकले गुनासो गरे ।

जेष्ठ नागरिकका गुनासो र सुझाव संकलन गरेपछि नगर प्रमुख थोप्राले सबै समस्याहरू जेष्ठ नागरिकहरूको अधिकार र सम्मानसँग जोडिएका विषय बस्तु भएको बताए । उनले भने,‘ ‘सुधारको लागि आजैबाट पहल हुने छ ।’

जेष्ठ नागरिकका कुरा सुनिरहँदा नगर प्रमुख थोप्राले आफ्नै बुवा आमाले छोरा संग जीवनको उत्तारर्दमा गरेका हक, अधिकार र आवस्यक्ताका बारेमा कुरा राखेको आफुलाई अनुभुति भएको उनले बताए । उनले मलिन स्वरमा भने ‘मेरो बुवा आमा भनेकै तपाइँहरु हो । जसरी मलाई मत दिएर नगर प्रमुख जस्तो ठाँउमा पुर्याउनु भयो । त्यसको गुन तिर्ने योजना बनाएको छु ।’ आउने दशैमा सामाजिक सुरक्षा भत्ता संगै शिवसताक्षी नगरको तर्फबाट ७० वर्ष पुगेका तपाईँ बुवा आमाले केही न केही उपहार पाउनु नगर प्रमुख थोप्राले बताए । तर, उपहारका बारेमा नगर प्रमुखले केही खुलाएनन् ।

जेष्ठ नागरिक र बालबालिका संग निक्कै घुलमिल गर्न चाहने नगर प्रमुले कोही बुवा आमाका व्यक्तिगत समस्या छन भने सुटुक्क कानमा आएर भन्न पनि अनुरोध गरेका थिए । तर, कसैले पनि यस्तो घरायसी गुनासो गरेनन् । ‘यसको अर्थ सबै जेष्ठ नागरिक खुसी हुँुनुहँुदो रहेछ भन्ने मैले बुझे,’नगर प्रमुख थोप्राले भने ।

नगर प्रमुख थोप्राका बुवा तोयाहाङ ०६४ सालमै परम्धाम भएका थिए । आमा चण्डी माया ०३९ सालमै बेपत्ता भएकी थिईन् । उनी अझै सम्म बेपत्ता नै छन् । नगर प्रमुख थोप्राले भने, ‘मैले मेरो आमाको माया धेरै पाउन सकिन । बुवाले पनि बेलैमा छोडेर जानुभयो । अब, मेरो अभिभावक अर्थात बुवा आमा भनेकै तपाईँहरुको हो ।’

जेष्ठ नागरिक भेटघाट चौतारीको सभाहलमा अटाई नअटाई भेला भएका जेष्ठ नागरिक वडा नम्बर ४,५,६ र ७ नम्बर वडाबाट आएका हुन । वडाबाट जेष्ठ नागरिक कार्यक्रममा आईरहँदा ६ नम्बर वडाका अध्यक्ष मनोज खुलालबाहेक अन्य वडाका अध्यक्ष कार्यक्रममा नआउदाँ जेष्ठ नागरिकले खल्लो महसुस गरे ।
कार्यक्रममा विलम्ब गरि पुगेका वडा अध्यक्ष खुलालले माईक पाउने वित्तिकै नगर प्रमुखको खुलेर तारिफ गरे । झन्डै ५ मिनेट मन्तव्यमा समय खर्चेका वडा अध्यक्ष खुलालले आधा समय नगर प्रमुखकै प्रशंसा गरे । त्यसपछि कार्यक्रमको लोकप्रियाताका बारेमा बोलेका खुलालले बाँकी समय जेष्ठ नागरिक नगरको गहना र देवता भएको बताए ।

वडा अध्यक्ष पछि माईक्रोफोन नगर प्रमुखको हातमा पुग्ने वित्तिकै मेयर थोप्राले वडा अध्यक्ष खुलालको पनि उत्तिनै तारिफ गरे । नगर प्रमुखले वडा अध्यक्षको तारिफ गर्दा जेष्ठ नागरिकले ताली बजाएर उनको अभिव्यक्तिको समर्थन जनाए । वडाको सिलिङ्ग बजेटबाट १० लाख खर्चेर जेष्ठ नागरिक भेटघाट चौतारी वडा अध्यक्ष खुलालले बनाएका थिए ।

नगर प्रमुखले सिलसिला मिलाउदै फेरि पुरानै शैलिमा आएर भने, ‘जब म जेष्ठ नागरिकसँग भेटे, मलाई आफ्ना बुवा आमा भेटिएको अनुभव भएको छ । यो अनुभवले मेरो मनमा जेष्ठ नागरिकप्रतिको दायित्व र सम्मानको भावना अझै बलियो बनाएको छ ।’ नगर प्रमुखले थप भने, ‘हामीले जेष्ठ नागरिकको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने योजनाहरू बनाएका छौँ ।’

यस्ता कार्यक्रमहरूले जेष्ठ नागरिकका अधिकार र हकको सन्देश समाजमा फैलाउन टेवा पुग्ने नगर प्रमुख थोप्राले बताए । नगर प्रमुखले जेष्ष्ठ नागरिकको भावना र समस्यालाई बुझेर समाधानको लागि ठोस कदम चाल्ने पनि बताएका छन् । भविष्यमा जेष्ठ नागरिकलाई अन्य कुनै प्रकारको अपमान र असुविधा नहोस् भन्ने उद्देश्यले नगरको हरेक क्षेत्र र कार्यालयमा विशेष ध्यान पुर्याईने उनले बताएका छन् ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : १०:४४:०४ , ६ घन्टा अगाडि

error: Content is protected !!