झापा एक्सप्रेस , ४०६७८ पटक हेरिएको
कनकाई,/ बढ्दो युवा पलायन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान थालेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका नौ वटै वडाका दुईदुई जना युवालाई छनोट गरेर स्वदेशमै गरीखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको छ ।
दलित सामुदायिक भवन दुर्गापुरमा चैत्र २७ गतेबाट नगरका ४० जना युवालाई ५० दिने प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको नगरपालिकाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो ।
कनकाई वडा न १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षमा शुरु अौपचारीक कार्यक्रम गरी सुरु गरिएको तालिमको उद्घाटन प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले बढ्दो युवा पलायनलाई रोक्न जरुरी रहेको भन्दै युवालाई सीपयुक्त बनाउनसके स्वदेशमै टिकाउन सकिने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई तनमन लगाएर सीप हासिल गर्न आग्रह गर्नुहुँदै भन्नुभयो, “तपाईंहरु एकदमै दक्ष भएर निस्किनुहोस् ।’
मुलुक निर्माणको आधार स्तम्भका रुपमा रहेका युवा विदेशिने वातावरणको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले युवालाई स्वदेशमै टिकाउने खालका कार्यक्रम सञ्चालनमा ल्याइरहेको पनि नगर प्रमुख पोखरेलले बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वदेशै रोजगार बन्न तालिम फलदायी बनोस् भन्ने शुभकामना दिनुभयो । तालिम दिन मानिसहरु प्रतिस्पर्धा गर्ने तर सिकेको सीपलाई व्यवहारमा नउतार्ने काम पनि भएरकाले प्रशिक्षार्थीले आफूले सिकेको सीप व्यवहारमा लागु गर्न कुनै कसर बाँकी नराख्न समेत न्यौपानेले आग्रह गर्नुभयो ।
कनकाई–१ का वडाध्यक्ष पोखरेलले युवालाई सीप सिकाएर आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन तालिम दिइएको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले युवालाई क्षमतावान बनाउन कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभएको थियो ।
तालिमको प्रशिक्षकको रुपमा दीपेन्द्र बिमली र दुर्गा सिटौला रहनुभएको छ । ५० दिने तालिममा ४० दिन सीपमूलक तालिम र १० दिन जीवन उपयोगी शिक्षा प्रदान गरिने वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा न १ का वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, हरिकुमार राई, टोल संयोजकसहित ६० बढीको सहभागिता रहेको थियो ।
पाथीभरा प्रोफेसनल एजुकेसन प्रालिको प्राविधिक सहयोगमा शुरु भएको तालिमको उद्घाटन कार्यक्रममा स्वागत कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम भट्टराई र सञ्चालन कम्पनीका कर्मचारी पिताम्बर सापकोटाले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०४-१६ , समय : १९:५९:२४ , ५ दिन अगाडि