झापा एक्सप्रेस , २०१९५ पटक हेरिएको

झापा — वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशील बनाउँदै झापाको शिवसताक्षी नगरपालिकाका पाँच वडाका किसानहरूलाई कारितास नेपालले जनही ५० हजार रुपैयाँ बराबरको पशु तथा चौपाय वितरण गरेको छ।
मिसियो जर्मनीको आर्थिक सहयोग र शिवसताक्षी नगरपालिकाको सहकार्यमा सञ्चालित कार्यक्रमअन्तर्गत गाई, सुंगुरका पाठा, राँगा, पाडा लगायतका पशु वितरण गरिएको हो।
कारितास नेपालका अनुसार शिवसताक्षी–११ का ४ जनालाई सुंगुरका पाठा, वडा नं. ८ मा एक जनालाई गाई र पाडा, वडा नं. १ का एक जनालाई पाडी, तथा वडा नं. ७ का नागरिकलाई २ वटा गाई र सुंगुरका पाठा वितरण गरिएको छ।
कारितास नेपाल शिवसताक्षीका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जनही ५० हजार बराबरको पशु चौपाय वितरण गरिएको जानकारी दिए। उनका अनुसार यो कार्यक्रम ‘आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत जिविकोपार्जन उत्थान कार्यक्रमको एक अंश हो, जुन विगत एक वर्षदेखि संचालनमा छ।
कार्यक्रम वैदेशिक रोजगारीमा असफल भई वा ठगी तथा मानव बेचबिखनको सिकार भई स्वदेश फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। लुइटेलका अनुसार नेपालमै स्थापित हुन चाहने, स्पष्ट योजना र भिजन भएका तथा व्यवसाय गर्न चाहने युवाहरूलाई सहयोग प्रदान गरिएको हो।
परियोजना लागु भएका वडाहरूमा वडाध्यक्षहरूको रोहबरमा पशु चौपाय वितरण गरिएको थियो। परियोजना सल्लाहकार समितिले मापदण्ड पुगेका लाभग्राहीहरू छनोट गरी नाम सिफारिस गरेपछि कारितास नेपालले मूल्यांकन गरेर उनीहरूलाई कार्यक्रममा समावेश गर्ने गरेको छ।
गत वर्ष ५ वटा वडामा १५ जनालाई पशु चौपाय वितरण गरिएको थियो भने चालु वर्षमा २० जनालाई वितरण गरिने योजना कारितास नेपालले सार्वजनिक गरेको छ।
प्रकाशित मिति: २०२५-०४-२३ , समय : २०:०८:०१ , ३ दिन अगाडि