आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य जामुनखाडी सिमसार

झापा एक्सप्रेस , १२६१७  पटक हेरिएको

ठोस खबर , ८ बैशाख/ पुर्वको पुरानो पर्यटकिय गन्तव्य मध्येको एक पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिने गरीएको छ ।

२०६५ सालमा झापाको कनकाई नगरपालिका १ र २ स्थित जामुनखाडी सामुदायिक वन क्षेत्रमा यहाका उपभोक्ताहरुको प्रयासमा प्रकृतिले दिएको उपहारमा थप सौन्दर्यता थप्दै स्थापना गरिएको जामुनखाडी सिमसार स्थापना कालबाटनै मनोरम पर्यटकीय क्षेत्रको रुपमा चर्चामा आएको थियोे ।

स्थापना भएको सात/आठ वर्ष सम्म आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी कोरोना कहर संगै पछिल्लो समय ओझेलमा परेको भए पनि अहिले पुनः व्युतदै गएको छ ।

अहिले समयको माग अनुसार जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु थप्दै गएपछि पर्यटकको आगमनमा समेत बृद्धि हुदै गएको जामुनबारी सामुदायिक वन उपभोक्ता समुह , जामुनखाडी सिमसार तथा प्रयटकिय क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले बताउनु भएको छ ।

सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र रहेको र ११ बिगाहामा व्यवस्थित मृगस्थली रहेको पनि अध्यक्ष गिरीले वताउनु भएको छ । त्यस्तै जामुनखाडिमा जंगली जनावरका लागि सुरक्षित आवासीय स्थल समेत रहेको छ । चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिंगर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, हाँस, विभिन्न प्रजातिका चरा समेत यस क्षेत्रमा रहेका छन । ती वन्यजन्तुलाई उचित आहारविहारको व्यवस्था वन समूहलेनै गर्नेगरेको अध्यक्ष गिरी वताउनु हुन्छ ।
सबै उमेर समुहका पर्यटकहरुलाई मध्यनजर गर्दै यस क्षेत्रमा बाल उद्यान निर्माण, झोलुङ्गे पुल निर्माण , झुलासँगै विभिन्न आकर्षक प्रतिमाहरु समेत राखिएको छ ।

जंगली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमति नदिएको समयमा समेत असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै अध्यक्ष गिरीले २०७२ सालमा सामुदायिक वनले बनाएको कार्यविधिलाई डिभिजन वन कार्यालयले पास गरेको बताउनुभयो । सोही कार्यविधिअनुसार पूर्वाधार निर्माण, जंगली जनावरको बास स्थान निर्माण कार्य भएको र अझ पनि भइरहेको गिरिले बताउनुभयो ।

प्राकृतिक सुन्दरताले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई/तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने स्मरण गर्दै समुहका सचिव दिपक ओली भन्नुहुन्छ, “आर्थिक अभावले समय अनुसार हामीले पर्यटकीय स्थलको पर्याप्त विकास गर्न सकेका छैनौं, हामीले गरिरहेको मेहेनतमा सरकारले सहयोग गर्ने हो भने जामुनखाडीलाई पूर्वकै नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्न कुनै समस्या छैन ।”

वन समूहकी उपाध्यक्ष रेनुका खवासले पर्यटकीय स्थललाई थप व्यवस्थित बनाउन वन समूहका सबै पदाधिकारी दिनरात खटिरहेको बताउनुभयो । “भर्खरै चिल्ड्रेन पार्क बनाएका छौं”, उहाँले भन्नुभयो, “यसले पनि पर्यटक आकर्षित भइरहेका छन् ।’ यहाँ एउटा/एउटा गरेर आकर्षण थपिँदै गएको उहाँ बताउनु हुन्छ ।

वन समूहकी कोषाध्यक्ष चेतकुमारी सापकोटाले यहाँ संरक्षित जनावरहरुलाई दैनिक खानपान गराउनुपर्ने भएकाले आर्थिक अभाव खड्किने गरेको बताउनुभयो । पर्यटकको आगमन कम भए खर्च टार्न धौधौ पर्ने उहाँको भनाइ छ । “१५ जनाभन्दा बढी कर्मचारी हुनुहुन्छ, उहाहरुलाई तलब दिनुपर्छ”, सापकोटाले भन्नुभयो, “कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्मको व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि आर्थिक अभाव हुन्छ ।”

पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडीमा यातायातको सुलभ पहुँच छ । यस क्षेत्रमा बिषेश गरी नेपालका बिभिन्न जिल्लाका आन्तरिक पर्यटकहरु संगै भारत लगायतका देशका बाह्य पर्यटक हरु समेत आउने गरेका छन । त्यसैगरी अध्ययन अवलोकनका लागि बिद्यालय साथै विभिन्न संघ संस्थाबाट समेत यस क्षेत्रमा आउने गरेका छन ।
प्राकृति वातावरणमा रमाउदै वनभोज आउनेहरुका लागि यहाँ पानी , सौचालय , विद्धुत लगायतको पनि उचित सुविधा रहेको छ ।
यहाँ आगन्तुक पर्यटकलाई प्रवेश शुल्क रू एक सय तोकिएको छ भने डुंगा सयर, बाल उद्यानमा रेल, गाडी लगायतका खेलका लागि छुट्टै शुल्क लाग्ने गर्दछ ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : १९:२३:०६ , २ दिन अगाडि

error: Content is protected !!