झापा एक्सप्रेस , ११४१५ पटक हेरिएको
कनकाई, ८ बैशाख / झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ ।
स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई ४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो ।
कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५ लाख त्यसैगरी कोशी प्रदेश सरकारको १ करोड २० लाख रुपैयाँको लागतमा १ हजार ३०० मिटर र संघीय सरकारको ५ करोड २० लाख रुपैयाँको लागतमा ३ हजार २०० मिटर सडक निर्माण भइरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।
स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडक खण्डमा विभिन्न पाँच वटा निर्माण कम्पनीले काम गरिरहेको वडा सदस्य मोहनप्रसाद संङ्ग्ग्रौलाले जानकारी दिनुभयो ।
सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने उहाँको भनाई छ । सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो । हिउँदमा धुलाम्मे र बर्खाका बेला हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका हजारौं स्थानीयबासी लाभाविन्त हुने वडा न ४ का वडाध्यक्ष सुवेदीको भनाई छ।
“पूर्वपश्चिम राजमार्गसँग जोड्ने यो सडक हाम्रो कनकाई ४ को एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्नुहुन्छ, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।” थोरै थोरै बजेटबाट केही सडक खण्ड कालोपत्रे गरिएको बताउदै उहाँले प्रदेश र संघीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्रे सम्पन्न गर्न सफलता मिल्न लागेको सुनाउनुभयो ।
वर्षा शुरु हुनुपूर्व बैशाख मसान्तभित्रै सडक कालोपत्रे सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २०२५-०४-२४ , समय : २०:०३:१८ , २ दिन अगाडि