झापा एक्सप्रेस , १२७०४ पटक हेरिएको

झापा – राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालले विभिन्न स्थानीय तहहरूलाई १० बुँदे ज्ञापनपत्र बुझाउँदै जनहितका मागहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा गाउँपालिका तथा नगरपालिकामा रहेका बैंक तथा वित्तीय संस्थाहरूले नागरिकको रकम अपचलन गरेर भागेमा त्यसको जिम्मेवारी को लिने भन्ने विषयमा स्पष्ट पार्न माग गरिएको छ। संस्थाले सोबारे लिखित वा भिडियो सन्देशमार्फत जनतालाई जानकारी दिनुपर्ने जनाएको छ।
त्यस्तै, सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने व्यवस्था गरिनुपर्ने र सबै सरकारी कर्मचारीको तलब सरकारी बैंकबाटै भुक्तानी गरिनुपर्ने माग पनि उल्लेख छ।
चुनावताका वृद्धभत्ता घरघरमै पुर्याउने वाचा गरिएकाले सोही अनुसार अहिले पनि घरघरमै वृद्धभत्ता पुर्याउनु पर्ने, कमिसनको लागि खोलिएका वृद्ध नागरिकका बैंक खाता बन्द गरिनुपर्ने भनिएको छ।
बजारमा मरेका विदेशी माछा बिक्री भइरहेको भन्दै तत्काल त्यसको बिक्री रोक्नुपर्ने, विद्यालयभित्र शिक्षकले कुनै राजनीतिक क्रियाकलाप गर्न नपाउने व्यवस्था मिलाउनुपर्ने, निमुखा नागरिकलाई लघुवित्त, बैंक तथा सहकारीबाट हुने प्रताडनाबाट जोगाउन निर्देशन दिनुपर्ने लगायतका मागहरू समेटिएका छन्।
त्यस्तै, वित्तीय संस्थाहरूले लिलामी गरेका घरजग्गा फिर्ता गराउन पहल गर्न, सबै वडामा लिलामी सिफारिस गर्न रोक लगाउन पत्रचार गर्न र गाई काट्ने तथा तस्करी गर्ने कार्यमा प्रतिबन्ध लगाउन स्थानीय तहलाई आग्रह गरिएको छ।
संयोजक राजेश राजवंशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, यदि माथि उल्लिखित मागहरू कार्यान्वयन नभएमा अभियानले सशक्त रूपमा कार्यान्वयन गराउने चेतावनी दिइएको छ। साथै, त्यस्तो अवस्थामा हुनसक्ने जोखिम वा क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गरिएको छ।
प्रकाशित मिति: २०२५-०४-२५ , समय : २०:०५:३३ , १ दिन अगाडि