एमसीसी सकस : सत्ता गठबन्धनको बैठक बस्दै

Jhapa Express , १३३३४  पटक हेरिएको

काठमाडौं- एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

एमसीसीको पुरक प्रस्तावको ड्राफ्टलाई केहिबेरमा बस्ने गठबन्धनको बैठकले मूर्तरुप दिएपछि संसद्‌बाट एमसीसी अनुमोदन गर्ने तयारी रहेको छ। कांग्रेस सभापति देउवा एमसीसी पास गर्न सत्ता गठबन्धनले साथ नदिए एमालेसँग सहकार्य गर्न अगाडि बढेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी प्रस्ताव अगाडि बढाएका छन्।

ससद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बैठक बस्दैछ। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधिसभा बैठकमा यस अगाडि ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरिरहेका छन्। एमसीसी अनुमोदन गर्न ‘स्पष्ट’ बहुमत नदेखेपछि प्रधानमन्त्रीले संसद् बैठक स्थगन गर्न सभामुखलाई आग्रह गरेका थिए। एमालेले अग्नि सापकोटालाई सभामुखबाट हटाउनुपर्ने, पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने र गठबन्धन भत्काउनुपर्ने सर्त एमालेले राख्दै आएको छ।

एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्तावमाथि छलफल गरेर निचोडमा पुर्‍याउने तयारी छ। एमसीसीलाई लिएर माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टीभित्रै नेताहरु दुई धारमा देखिएका छन्। सहमति जुटाउन दुबै पार्टीले आइतबार बिहान छलफल गर्ने भएका छन्।

एमसीसीको विषयमा माओवादीभित्र पनि दुई धार रहेको छ। वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर पत्र पठाएका थिए। गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहमत भएको पुष्टि भएको छ। अध्यक्ष प्रचण्ड बाहिर भने संशोधन नभई एमसीसी पास गर्न नसकिने अभिव्यक्ति दिँदै आएका थिए। एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि प्रचण्ड चेपुवामा परेका हुन्।

एमसीसीमा सत्तारुढ दलले मतदान नगरे गठबन्धन टुट्ने कांग्रेसका शीर्ष नेताले अभिव्यक्ति दिन थालेपछि माओवादीले मध्यमार्गी प्रस्ताव अगाडि सारेको हो। यस अगाडि माओवादीको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको थियो । एमसीसीका कारण धरापमा पर्ने अवस्था आएपछि प्रचण्डले शनिबार एक कार्यक्रममा सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेको जानकारी गराएका थिए। उनले भने, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर कुनै उपाय छ त भनेर छलफल भइरहेको छ।’

माओवादी र समाजवादीका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्। त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएका हुन् र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।

व्यक्तिगत रुपमा अध्यक्ष नेपाल एमसीसीबारे नकरात्मक नरहे पनि उनको पार्टीका अन्य नेताहरु यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा छन्। सो पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा छन्। खनालको कारणपनि अध्यक्ष नेपाल दबाबमा छन्। समाजवादीकी सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कि सरकारले ल्याएका एजेण्डामा साथ दिनुपर्ने कि त सरकारबाट पार्टी बाहिरिनुपर्ने अभिव्यक्ति दिँदै आएकी छन्। उनले सरकारमा पनि बस्ने र एमसीसीको विरोधमा सडकमा आन्दोलन गर्ने पार्टीभित्र दोहोरो चरित्र हुन नहुने सार्वजनिक रुपमा बताउँदै आएकी छन्।

प्रकाशित मिति: २०२२-०२-२७ , समय : १०:२४:१२ , ३ वर्ष अगाडि